मकवानपुरका ३५ वर्षे रमेश नेपाली परिवारसहित रामबजारमा बस्थे। रामबजारमै उनको मोबाइल पसल छ। असार १ गते उनकी पत्नी लक्ष्मी एकाएक हराइन्। ३ गते रमेश पत्नीको खोजी गरिदिन भन्दै पोखरा महानगरको वडा नम्बर १५ मा पुगे। त्यसपछि उनले वडा प्रहरी कार्यालय रामबजार र जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि फरकफरक जाहेरी दिए। १ लाख ५० हजार लिएर हिँडेकी पत्नी घर नफर्कंदा छोराछोरी बिचल्लीमा परेको जाहेरीमा उल्लेख छ।
रमेशले ससाना छोराछोरीसहित सहयोगको याचना गर्दै हिँडे। दिनहुँजसो जिल्ला प्रहरी कार्यालय कास्की धाए। एक्लै होइन आफन्त र सहयोगी लिएर उनी प्रहरी कार्यालय जान्थे। सञ्चारमाध्यममा समेत उनले हारगुहार गर्न छाडेनन्। युट्युब च्यानलमा समेत पत्नी हराएकामा बलिन्द्रधारा आँसु झार्दै दुख मनाउ गरे।
रमेशको क्रियाकलापलाई प्रहरीले निगरानी गरिरहेको थियो। तर हराएकी लक्ष्मीको कुनै अत्तोपत्तो नभएकाले प्रहरीले खोजी पनि गर्दै आएको थियो। लक्ष्मीले प्रयोग गरेको मोबाइल, सिक्री लगायत सामग्री घरमै भेटिएपछि प्रहरीले रमेशमाथि शंका गरेको हो। अनुसन्धानको घेरो साँघुरो बनाउँदै जाँदा रमेशमाथि नै प्रहरी केन्द्रित भयो।
अन्ततः प्रहरीले रमेशलाई मंगलबार नियन्त्रणमा लियो। केरकार गर्दा उनी विस्तारै गल्न थाले। अन्ततः पत्नीको हत्या आफ्नै योजनामा भएको स्वीकारे। रमेशकै भनाइ अनुसार प्रहरी बुधबार घटनास्थल पुग्यो। घटनास्थल हो पोखरा महानगर २२ को ठुल्ढुंगाको जंगल।
पृथ्वी राजमार्गबाट करिब ५ सय मिटर तल जंगलमा लक्ष्मीको अस्थिपञ्जर भेटियो। टाउको र शरीर छुट्टिएको अवस्थामा अस्थिपञ्जर भेटिएको थियो। अस्थिपञ्जरसँगै भेटिएका कपडा र जुत्ताको आधारमा आफन्तले शव लक्ष्मीकै भएको दाबी गरेका छन्। घटनास्थलमा कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीसहितको टोली नै पुगेको थियो।
दोस्रो बिहे गर्न पत्नी हत्या!
लामो समयदेखि गोडामा समस्या भएकी पत्नी लक्ष्मीलाई जडिबुटी खोज्ने भन्दै असार १ गते रमेशले पुम्दीभुम्दीस्थित जंगलमा लगेका थिए। केही बाहाना बनाएर आफू जंगलतिर छिरेपछि २ जना सहयोगीले लक्ष्मीको हत्या गरेको प्रहरीसामु रमेशले स्वीकारेका छन्। अर्कै महिलासँग माया बसेको र उनीसँग बिहे गर्नुपर्ने दबाब बढेपछि आफूले १० लाख रुपैयाँ दिने सर्तमा मान्छे लगाएर पत्नीको हत्या गरेको प्रहरीसँगको प्रारम्भिक बयानमा बताएका छन्।
रमेशका अनुसार कबोल गरेको १० लाखमध्ये ६ लाख रुपैयाँ दिएको र बाँकी ४ लाख दिन बाँकी छ। हत्यामा संलग्नमध्ये १ जना पक्राउ परेको र अर्को १ जना पनि छिट्टै पक्राउ पर्ने प्रहरीले जनाएको छ। हत्यामा संलग्न अरु पनि रहे नरहेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। अस्थिपञ्जर भेटिएको १ किलोमिटर पर बस्ती छ।
करिब २०-२२ दिन अघि १ व्यक्तिले मानिस हराएको भन्दै ठुल्ढुंगा आसपासमा फोटोसहितको सूचना टाँसेको स्थानीयले बताए। सूचना टाँस्ने व्यक्ति पनि रमेश नै रहेको स्थानीयको अनुमान छ। अस्थिपञ्जर उठाएर पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ।