पर्यटकीय सहर पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको डाइभर्सन बाढीले बगाएको छ ।
पृथ्वी राजमार्गको पोखरा महानगरपालिका १४, चाउथे र वडा २६ विजयपुर जोड्ने विजयपुर खोलामाथि दशकअघि बनाइएको पक्की मोटरेबल पुलको स्टिल बिम चर्किँदा ठूला यातायातका साधन आवतजावतमा रोक लगाइएको थियो । ठूला यातायातका साधनलाई नदीमा ह्युमपाइप राखेर वारपार गरिएकामा आइतबार रातिको बाढीले ह्युमपाइप पनि बगाएको हो ।
डाइर्भसन बाढीले बगाउँदा पोखरा भित्रिने तथा पोखरा हुँदै पर्वत, बागलुङ, म्याग्दीलगायत जिल्लामा जाने मालबाहक ट्रकको आउजाउ रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । ठूला क्षमताका गाडी बिहान ५ बजेदेखि रोकिएको प्रहरीको भनाइ छ ।
डिभिजन सडक कार्यालय पोखराले स्टिल पुलको आडमा बेलिब्रिज निर्माणका लागि सामग्री आइपुगेको तथा बेलिब्रिज जडान गर्न एबुटमेन्ट (पिलर) निर्माण सकिएकाले आजबाट जडानको काम सुरु गर्ने तयारी गरेको थियो । गत फागुन अन्तिम साता पुल जीर्ण भएको पत्ता लागेपछि १० टनभन्दा बढी क्षमताका साधनलाई नदीमा अस्थायी रूपमा ह्युमपाइप हालेर वारपार गराइन्थ्यो ।
कार्यालयका सब-इञ्जिनियर किरण सुवेदीले सातदेखि १० दिनभित्र बेलिब्रिज जडानको काम सम्पन्न गरी पुल सञ्चालनमा ल्याइने बताए । उनले भने, ‘इटहरीबाट बेलिब्रिजका सामग्री आइपुगेको छ, अब जडान सुरु हुन्छ । एक सातादेखि १० दिनभित्र काम सकेर पुल सञ्चालन गर्ने तयारी गरेका छौं ।’
कार्यालयका अनुसार दुई लेनको पुल ५० मिटर लामो र भारवहन क्षमता सय टनको रहने बताइन्छ । बेलिब्रिज निर्माणका लागि सडक कार्यालयले २ करोड २० लाख रुपैयाँमा सगरमाथा-जेजे जोइन्ट भेन्चर कम्पनीसँग गएको वैशाख २२ मा सम्झौता गरेको थियो । चर्किएको स्टिलब्रिज मर्मतको काम सकिए पनि सडक विभागबाट निरीक्षणमा आएका विज्ञहरुको प्रतिवेदन नआउँदासम्म ‘हेभी’ सवारीलाई प्रवेश नदिइने सुवेदीले बताए ।
मर्मतपछि यातायात सञ्चालन गर्न सकिने वा नयाँ पुलनै बनाउनुपर्ने भन्नेबारेमा प्रतिवेदन आएपछि निर्णय लिइने कार्यालयले जनाएको छ । बेलिब्रिज अस्थायी पुल भए पनि यसलाई १० वर्ष प्रयोगमा ल्याउन मिल्ने बताइन्छ । विजयपुरको यो पुल हुँदै दैनिक ६ हजारको संख्यामा सवारीसाधन ओहोरदोहोर गर्ने बताइन्छ । -रासस