भारतको महाराष्ट्रमा उखु खेतमा काम गर्ने हजारौं महिलाको गर्भाशय निकालिएको पाइएको छ। महाराष्ट्रका सोलापुर, सांगली, उस्मानावाद, बीडलगायत जिल्लाबाट आएका महिलालाई निरन्तर काममा लगाउन ठेकेदारहरुले गर्भाशय निकाल्न लगाउने गरेको पाइएको हो ।
उखु खेतमा निकै कडा मिहिनेतका साथ काम गर्नुपर्ने हुन्छ। तर महिलाहरु महिनावारीको समयमा २ दिनजति काममा नआउने हुनाले ठेकेदारहरुले गर्भाशय नै निकाल्न लगाउने गरेको बताइएको छ।
उखु कटाइको करिब ६ महिना महिलाहरु नजिकै बनाइएको झुपडी या टेन्टमा बस्ने गर्छन्, जहाँ शौचालय नै हुँदैन । रातको समयमा पनि उखु कटाइ हुने भएकाले सुत्ने उठ्ने समय पनि निश्चित हुँदैन। सफाईको स्थिति राम्रो नहुने भएकाले अधिकांश महिला संक्रमणको शिकार हुने गर्छन्।
सामाजिक कार्यकर्ताका अनुसार संक्रमित भएपछि महिलाहरु उपचारका लागि डाक्टरकहाँ जान्छन् । तर डाक्टरहरुले आवश्यक नहुँदा पनि अपरेशन गराउने सल्लाह दिन्छन्। ग्रामीण क्षेत्रमा अधिकांश महिलाको सानै उमेरमा बिहे भएको हुन्छ । ३० वर्षको उमेरसम्म उनीहरुको दुई या तीन बच्चा भइसकेका हुन्छन् ।
डाक्टरहरु गर्भाशय निकाल्न त सल्लाह दिन्छन्, तर त्यसबारे जोडिएका समस्याबारे भन्दैनन्। त्यसैले महिलाहरु गर्भाशयबाट छुट्कारा पाउनमै आफ्नो भलाई देख्छन्। यसका कारण अधिकांश गाउँ त गर्भाशयविहीन महिलाको गाउँ’ का रुपमा परिचित छन्।
राज्यका स्वास्थ्यमन्त्री एकनाथ सिन्देका अनुसार विगत तीन वर्षमा करिब ४६०५ महिलाको गर्भाशय निकालिएको स्वीकारेका छन्। यसबारे छानबिन गर्न बीड जिल्लाको बजारवाडी गाउँको भ्रमण सरकारी टोलीले गरेको थियो । त्यहाँ हरेक वर्ष अक्टुबरदेखि मार्चको बीचमा ८० प्रतिशत ग्रामीण समुदाय उखु खेतमा काम गर्न जान्छन्। उक्त गाउँमा आधाभन्दा बढी महिलाको गर्भाशय निकालिएको पाइएको थियो, जसमा अधिकांश ४० वर्षभन्दा कम उमेरका थिए।
डाक्टरहरु उनीहरुको गर्भाशय निकाल्न त भन्छन्, तर अपरेशनपछि आउने समस्याका बारेमा जानकारी दिँदैनन्। यहीकारण यी ग्रामीण क्षेत्रका अधिकांश गाउँ ‘गर्भाशयविहीन महिलाको गाउँ’ का रुपमा परिणत भएका छन्।