बालिका बलात्कार आरोपमा सप्तरीको बोदे बर्साइन नगरपालिका ७, मानराजाका १८ वर्षीय घुरनकुमार यादवलाई सप्तरी जिल्ला अदालतले ६ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले कारागारमा थुनामा रहेका आरोपीलाई ६ वर्ष कैद सजायसँगै ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने अन्तिम फैसला गरेको हो । जिल्ला अदालतको आदेशमा आरोपी २०७५ वैशाख ७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।
पीडितकै घरको कोठामा २०७४ चैत ९ गते बलात्कार गरेको भन्दै पीडितले भोलिपल्टै इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएका थिए । प्रहरीले २०७४ चैत १० गते नै आरोपी पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको थियो । -रासस