कास्कीको मादी गाउँपालिकाको ज्याम्दुस्थित मादी नदीमा निर्माणाधीन मोटरेबल पुल आइतबार बिहान नदीले बगाएको छ । ढलान गर्ने अवस्थामा पुगेको पुल बिहान बढेर आएको नदीले बगाएको मादी गाउँपालिकाका प्रमुख बेदबहादुर गुरुङले बताए ।
आधार तयार गरी ढलान गर्ने अवस्थामा पुगेको पुल ठेकेदारको लापरवाहीले बगाएको उनले आरोप लगाए । उनले भने,‘ हिउँदभर काम नगरी सुतेर बस्यो बर्खामा आएर बनाउन लागेपछि यस्तो अवस्था आयो ।’ उक्त पुलले मादी गाउँपालिका ७ र ३ नम्बर वडा जोड्छ। हेटौंडाको मृत सञ्जीवनी निर्माण सेवाले तत्कालीन जिल्ला विकास समितिबाट ठेक्का पारेरनिर्माणको जिम्मा लिएकोे थियो ।
८३ मिटर लामो उक्त पुल आरसिसी स्ल्याब मोडलको हो । ठेकेदार कम्पनीले ८ करोड ६९ लाख रुपैयाँमा २०७५ वैशाख २० गते निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । स्वीस सरकारको सहयोगमा बन्न लागेको उक्त पुल निर्माण सम्पन्न भएपछि काउले,ज्याम्दुर ताङतिङका बासिन्दालाई आवतजावतमा सहज हुन्छ ।
गाउँपालिकाले अर्को ठेकेदारलाई जिम्मा दिन लागेका बेला मृत सञ्जीवनीले गत चैत सम्ममा बनाउने भन्दै पुन म्याद थपेको थियो । तर पुन थपिएको म्यादको ३ महिना बित्दासमेत पुल तयार भएन । अहिले त बाढीले नै बगाइदिएपछि स्थानीयमा थप निराशा छाएको छ ।