नेपाल–भारत सीमा नाकामा ४० भन्दा बढी ट्रकलाई दुई दिनदेखि नेपाल प्रवेशमा रोक लगाइएको छ । नेपालतर्फको नाका जमुनाहामा मात्रै १७ ट्रक रोकिएका छन् भने भारतीय सीमा नाका रुपैडिहामा २५ भन्दा बढी ट्रक रोकिएको नेपालगञ्जका व्यवसायीले बताएका छन् ।
भारतबाट तरकारी र फलफूल बोकेर नेपाल भित्रिँदै गरेका ट्रक सीमामै रोकिएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले जानकारी दिए । उनले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको परिपत्रअनुसार भारतबाट नेपाल प्रवेश गर्दै गरेका मालवाहक ट्रक रोकिएको बताए ।
उनले भने, “विषादी परीक्षण नगरेका ट्रकहरुलाई नेपाल प्रवेशमा रोक लगाउनू भन्ने परिपत्र आएको छ । परिपत्र आएलगत्तै हामीले ती ट्रकको जाँच पास दिएका छैनौँ ।” उनले विषादी परीक्षणका लागि तरकारी तथा फलफूलको नमूना सङ्कलन गरेर नेपालगञ्जस्थित विषादी अन्वेषण द्रुत विश्लेषण एकाइ कार्यालय बाँकेमा पठाइएको जानकारी दिए ।
प्रमुख निरौलाले भने, “विषादी छ/छैन भन्नेबारे परीक्षणपछि मात्रै थाहा हुने र सोही आधारमा ट्रकहरुलाई जाँच पास दिन्छौँ । विषादीयुक्त पाइएमा ट्रक फिर्ता पठाइदिन्छौँ ।” विगतमा तरकारी र फलफूल बोकेका गाडी विनारोकटोक नेपाल भित्रन्थे ।