औषधि व्यवस्था विभागले देशभरका ९४ वटा औषधि पसललाई कारबाही गरेको छ। मापदण्डविपरीत सञ्चालन भएको भन्दै ती औषधि पसललाई कारबाही गरेको विभागले जनाएको छ। कारबाहीमा परेका औषधि पसलमध्ये ५८ लाई सचेत गराइएको छ भने १६ वटालाई बन्द गराइएको छ। १७ वटा औषधि पसललाई निलम्बन गरिएको छ। यस्तै, तीनवटा औषधि पसलविरुद्ध मुद्दा दायर भएको छ।
दर्ता नभएको, प्रतिबन्धित औषधि बिक्री वितरण भएको, अनुमतिपत्र नलिई व्यवसाय गरिरहेको, एलोप्याथिक पसलमा आयुर्वेदिक औषधि बिक्री वितरण हुने गरेको र नवीकरण नभएकोलगायतका अवस्थामा औषधि पसल सञ्चालन गरेको भन्दै कारबाही गरिएको औषधि व्यवस्था विभागले जनाएको छ।
विभागका अनुसार औषधि पसल आफ्नो नाममा दर्ता गर्ने र पसल सञ्चालनका लागि अर्कै व्यक्तिलाई दिने गरेको भेटिएपछि केही पसललाई कारबाही पनि गरेको जनाएको छ।
यस्तै, पाँच प्रकृतिका औषधि फिर्ता पठाइएको छ। एफई–३५ ब्याचको फेक्जोलर, मुम्पिर वइन्टमेन्ट, पोल्जिन एनजेट १५ एमजी नामक औषधि फिर्ता पठाइएको छ। यस्तै, रिङगर ल्याक्टेट सोलुसन फर इन्जेक्सन आइपी नामक औषधि पनि बजारबाट फिर्ता पठाइएको छ। ती औषधिहरू भारतीय र नेपाली कम्पनीबाट उत्पादन भएको औषधि व्यवस्था विभागले जनाएको छ। बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिहरूको नमुना परीक्षण गर्दा न्यूनगुणस्तर भएको भन्दै बजारबाट फिर्ता पठाइएको हो।
औषधिको प्रयोगबाट ज्यानलाई खतरा पुग्ने सम्भावना भएमा जन्मकैद वा १० वर्षसम्म कैद र जरिमाना हुने औषधि ऐन, २०३५ मा उल्लेख छ। शरीरको कुनै अंगको शक्ति क्षीण वा हरण हुन सक्ने भएमा १० वर्षसम्म कैद र जरिमाना, अन्य अवस्थामा पाँच वर्षसम्म कैद वा जरिमाना वा दुवै सजाय हुने ऐनमा व्यवस्था छ। राजधानी दैनिकमा खबर छ।