रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा थुनिएका १७ जना मजदुरलाई बाहिर निकालिएकाे छ।
पहिरोले थुनेको सुरुङको मुख खोलेर सुरुङभित्र थुनिएका ११ जना नेपालीसहित ६ जना चिनियाँ मजदुरलाई बाहिर निकालिएकाे रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए। निकालिएका १७ जनाकाे स्वास्थ्य अवस्था सामान्य छ।
विहीबार राति ८ बजेतिर खसेको पहिरोले निर्माणधिन रसुवागढी जलविद्युत आयोजनाको सुरुङको प्रवेशद्वार पुरेको थियो। बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा खटिएका थिए।
गोसाइँकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्रबाट झण्डै सय मिटर माथि यो परियोजना बनिरहेको छ। रसुवागढी नजिकै १११ मेगावाटको जलविद्युत आयोजना बनिरहेको हो। भूकम्पीय जोखिमयुक्त भएकाले पनि त्यहाँ पहिरोको सम्भावना धेरै रहेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए।