यस वर्षको मनसुन बिहीबारदेखि नेपाल भित्रिएको छ । नेपालको पूर्वी क्षेत्र हुँदै मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले जानकारी दिए ।
विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सुरु भएको औपचारिक जानकारी गराएको छ । मनसुन भित्रिएको जानकारी पाएसँगै अब धान रोपाइँ गर्ने किसानहरूमा खुशी छाएको छ । यतिबेला नेपालको इलाम, झापा, मोरङलगायतका पूर्वी तराईका जिल्ला र पहाडको ताप्लेजुङ इलाकामा मनसुनको असर परिरहेको छ ।
विभागका अनुसार पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको छ भने केही दिनभित्रै नेपालभर फैलिने अनुमान गरिएको छ । नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्नेगर्छ । यस आधारमा यस वर्षको मनसुन १० दिन ढिलो सुरु भएको हो । मनसुन सुरु हुनै लाग्दा अरब सागरमा उठेको आँधीले मनसुनको गतिविधिमा असर गरेका कारण नेपालमा ढिला गरी मनसुन भित्रिएको
मौसमविद्हरू बताउँछन् ।
नेपालमा मनसुन भित्रिएसँगै अब पश्चिमी वायु विस्थापित हुँदै दक्षिणपूर्वी वायुले स्थान लिएको छ । हिउँद लागेपछि फेरि पश्चिमी वायु सक्रिय भई दक्षिणपूर्वी वायुको अन्त्यसँगै यस वर्षको वर्षात् सकिनेछ ।
नेपालमा जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । मनसुनमा समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्छ । मौसमविद् मिनकुमार अर्यालले भने, ‘‘पूर्वबाट सुरु भएको मनसुन मध्यक्षेत्र हुँदै पश्चिम पुग्नेछ । ’’ उनका अनुसार बङ्गालको खाडीमा उत्पन्न मनसुनी वायु भारतको सिक्किम हुँदै नेपाल प्रवेश गरेको हो । पूर्वमा एक हप्तासम्म मनसुन लगातार रहनसक्छ भन्दै अर्यालले थप्नुभयो, ‘मध्य क्षेत्रमा एक दुई दिनभित्रमा र पश्चिममा एक हप्ताभित्र पुग्नेछ । ’