एसपी दानबहादुर कार्कीले कास्की प्रहरीको कमान्ड सम्हालेपछि लागूऔषध कारोबार नियन्त्रणमा एकपछि अर्को सफलता मिलेको छ ।कास्की प्रहरीले शुक्रबार पोखराबाट ठूलो मात्रामा लागूऔषधसहित काराबारीलाई नियन्त्रणमा लिएको छ ।
पोखरा– १० शिवमार्गस्थित १ घरको कोठाबाट प्रहरीले डाइजापाम, फेनेरागन र नर्फिन गरी १ हजार ४ सय ६४ थान बरामद गरेका छ । यसैगरी १ सय थान नाइट्रोजन चक्की, १ सय एमएलको फेन्सिडिल ३ सय ३८ बोतल र १६ हजार ७ सय ७५ रुपैयाँ नगद बरामद गरेको एसपी कार्कीले जानकारी दिए । यो कारोबारमा २ जनाको संलग्नता भएको सूचना पाए पनि कोठामा १८ वर्षे १ युवा मात्र भेटिएका छन् । शुक्रबार बरामद गरेको लागूऔषको बजार मूल्य करिब १२ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
भर्खरै एसइई दिएर बसेका ती युवा स्कुल पढ्दादेखि नै लागूऔषध कारोबारमा संलग्न रहेको प्रहरीको भनाइ छ । उनले आफू कारोबारमा संलग्न नभएको तर दाजुले सामान कुरेर बस भनेकाले त्यसै अनुसार गरेको बताएका छन् । एसपी कार्कीका अनुसार लागूऔषध प्रयोगकर्ताहरु कोठामै सामान लिन आउने गर्थे । उनले भने,‘कागजमा पोको पारी मास्किङ टेप लगाएर ग्राहकलाई बेच्ने गरेको खुलेको छ । यो घटनामा संलग्न अर्को व्यक्ति हामी खोजी गरिरहेका छौं ।’
उनका अनुसार यो टोली कति अगाडिबाट कारोबारमा संलग्न हो भन्ने अनुसन्धान बाँकी छ । कारोबारीले बेलाबेलामा डेरा फेरिरहने क्रममा अहिलेको ठाउँमा आएको डेढ महिनाजति भएको प्रहरीको भनाइ छ । प्रहरीले शिवमार्गमा छापा मार्दै गर्दा अर्को टोलीले पोखराबाटै प्रहरीले ग२च २५९५ नम्बरको गाडीसहित २७वर्षे दाबानोर्फी लामालाई पक्राउ गरेको छ । उनी शिवमार्गकै कारोबारमा संलग्न रहेको नरहेको बारेमा पत्ता लगाउन बाँकी रहेको एसपी कार्कीले बताए ।
पोखरामा मुख्य समस्याको रुपमा रहेको लागूऔषध कारोबार र सेवन नियन्त्रण गर्न आफू र आफ्नो टोलीले प्रयास गरिरहेको उनको भनाइ थियो । उनले भने, ‘काठमाडौंबाट पोखरा आउनुभन्दा अगाडि मैले यहाँको ३ वर्षे डाटा एनालाइसिस गरेको थिएँ । सबैभन्दा ठूलो समस्या लागूऔषध सेवन र कारोबार देखेको हो । यसविरुद्ध अभियान चाल्नुपर्छ भन्ने मलाई लागेको हो । यो अभियान जारी छ ।’ भारतीय नाकाबाटै लागूऔषध भित्रिने गरेको र पछिल्लो समयमा भैरहवा नाकाको प्रयोग गरेर धेरै सामान ल्याएको पाइएको प्रहरीले दाबी गरेको छ ।
कास्कीमा घरेलु मदिरा पनि समस्याकै रुपमा देखिएको उनको भनाइ छ । सांस्कृतिक महत्वको विषय वाहेक व्यवसायिक प्रकृतिका घरेलु मदिरा नियन्त्रणमा समेत आफू लाग्ने प्रतिबद्धता उनले जनाएका छन् ।
कास्की प्रहरीले लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा बुधबार पोखराको उत्तमचोकमा गोली नै चलाउनु परेको थियो । उक्त घटनामा ३० वर्षे गोविन्द थापा घाइते भएका थिए । उनको साथबाट प्रहरीले डाइजापाम, फेनेरेगन र नर्फिन गरी १ हजार ५ सय थान बरामद गरेको थियो । सोही दिन प्रहरीले लागूऔषध कारोबारमा संलग्न ३८ वर्षे देवीकुमारी गुप्तालाई पक्राउ गरेको छ । उनको साथबाट डाइजापाम, फेनेरेगन र नर्फिन गरी ९ सय थान बरामद गरेको थियो ।