पाँचथरको आरुबोटे हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि ‘आफू पनि मर्छु र सबैलाई मार्छु’ भन्ने गरेको अनुसन्धानबाट खुलेको छ।
९ जनाको ज्यान जाने गरी पाँच दिनअघि मिक्लाजुङ ३, आरुबोटेमा भएको दुई परिवारको हत्यामा संलग्न भनिएका मानबहादुर माखिम झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। ‘घटनाको करिब एक महिना अघिदेखि म पनि मर्छु र सबैलाई मार्छु भनेर घरपरिवार र साथीभाइसँग भन्ने गरेको खुलेको छ’, अनुसन्धानमा संलग्न एक अधिकारीले भने।
घटनाका दिन घरबाट उपचारका लागि विराटनगर जान्छु भनी कपडा बोकेर हिँडेको परिवारले प्रहरीसँगको बयानमा बताएका छन्। ससुराली गाउँ आरुबोटेमा मानबहादुर हत्या घटना हुनुभन्दा दुई घण्टाअघि पुगेको प्रहरीले अनुमान गरेको छ।
हत्या घटना राति साढे १० देखि साढे १२ बीच भएको अनुसन्धानबाट देखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट आएको टोलीका प्रमुख एसपी उमा चतुर्वेदीले बताए। उनीसहितको तीन सदस्यीय टोली र स्थानीय प्रहरीसमेतको संलग्नतामा अनुसन्धान जारी छ।
प्रदेश १ प्रहरी कार्यालयका अनुसार अनुसन्धानक्रममा घटनास्थल, गाउँका विभिन्न स्थान र आफन्तको निगरानीजस्ता काममा करिब ७५ प्रहरी परिचालित छन्।
शुक्रबारसम्म सीआईबीको टोलीले २५ जनाभन्दा बढीसँग घटना र त्यसअघिको परिस्थितिबारे सोधपुछ गरिसकेको छ। अझै केही दिन सोधपुछ र अनुसन्धानको क्रम जारी रहने चतुर्वेदीले बताए। ‘हालसम्म घटनामा एकजना मात्र संलग्न रहेको प्रमाण भेटिएको छ’, उनले भने, ‘अरू कोही संलग्न थिए, थिएनन् भन्ने कोणबाट पनि अनुसन्धान गरिरहेका छौं।’
प्रहरीका अनुसार घटनापछि बिहानको ३ बजे एकजना आफन्तलाई फोन गरी आवश्यक परेको छ भन्दै रकम मागेका थिए। कोसँग मागेको भन्ने प्रहरीले खुलाएको छैन। घटनास्थलको प्रकृति र अन्य पक्षहरू अध्ययनपछि मानबहादुरले बिहान साढे ३ देखि ५ बजेभित्र झुन्डिएर आत्महत्या गरेको प्रहरी अनुमान छ।
अनुसन्धानमा संलग्न पाँचथरको टोलीका एक सदस्यका अनुसार यतिन्जेलसम्मको अध्ययन/अनुसन्धानबाट मानबहादुर सबैभन्दा पहिले साढुदाइ धनराज सेर्माको घर गएका थिए। त्यहाँ सुरुमा उनले धनराजलाई त्यसपछि परिवारका अरू चारजनालाई खुकुरी प्रहार गरेको घटनास्थलमा संकेत पाइएको प्रहरीको भनाइ छ।
४१ वर्षीय धनराजको घरका उनीसहित ३६ वर्षीया श्रीमती जस्मिता र तीनजना बालिकाको हत्या भएको थियो। त्यसपछि मानबहादुर करिब एक किलोमिटर दूरीमा रहेको ससुरा ७४ वर्षीय बमबहादुर फियाकको घर पुगेका थिए। त्यहाँ उनले सुरुमा बमहादुरमाथि आक्रमण गरेका थिए।
प्रहरीका अनुसार त्यसक्रममा बमबहादुरले पनि खुकुरी निकालेर प्रतिकार गरेको पाइएको छ। घटनास्थलमा उनले प्रयोग गरेको भनिएको खुकुरी उनकै शवछेउ भेटिएको थियो।
आक्रमण गर्ने भनिएका मानबहादुरको हातको एउटा औंलामा गहिरो गरी काटिएको चोट त्यसबेलाको प्रतिकारमा भएको ठम्याइ अनुसन्धान टोलीको छ। बमबहादुरसहित उनकी श्रीमती र छोरी र एक बालिकाको हत्या भएको थियो।
भागेर बाँच्न सफल बमबहादुरकी १२ वर्षीया नातिनी सीता खुजुम आक्रमण सुरु भएपछि हजुरबुबाले प्रतिकार गरेकै बेला भागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। स्थानीय र केही आफन्तसँगको कुराकानीमा प्रहरीले मानबहादुर डिप्रेसनको समस्याबाट ग्रस्त रहेको पाइएको जनाएको छ।
उनले यो समस्याबारे विराटनगरमा जाँच गरेर दुईखाले औषधि खाने गरेका थिए। औषधिको नाम प्रहरीले खुलाएको छैन।
डाक्टरले लामो समयसम्म औषधि खानुपर्छ र चाँडै निको हुँदैन भनेकाले आफू चिन्तित रहेको मानबहादुरले आफन्तलाई सुनाउने गरेका थिए।
घटनाको करिब ६ महिनाअघि श्रीमती मनकुमारीले सम्बन्धविच्छेदको मुद्दा हालेकी थिइन्। यसपछि मानबहादुर बढी तनावमा रहेको स्थानीयको भनाइ छ। उनीहरूको २०६८ सालमा मागी बिहे भएको थियो। बिहेअघि मानबहादुर २ वर्ष मलेसिया बसेर फर्केका थिए। कान्तिपुरमा खबर छ।