गत चैत २७ गते सगरमाथाको उचाई मापन गर्न गएको सरकारी टोली काठमाडौं फर्किएको छ ।
सगरमाथाको शिखरमा एक घण्टा २० मिनेटसम्म बसेर फर्किको मापन टोलीलाई शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सिंहदरबारमा स्वागत गरिन् । तर सगरमाथा नाप्न गएको टोलीका अधिकांश सदस्यको स्वास्थ्यमा समस्या देखिएको छ । उनीहरुको काठमाडौंमा उपचार भइरहेको छ ।
स्वागत कार्यक्रममा मन्त्री अर्यालले स्वास्थ्यमा समस्या हुँदा पनि सगरमाथाको उचाई मापनको कार्य सम्पन्न गरेर राष्ट्रको गौरव बढाउने काम गरेको बताइन् । उनले आफ्नै साधन र जनशक्ति प्रयोग गरेर सगरमाथाको मापन गर्न पाएकोमा खुसी लागेको बताइन् । उनले ऐतिहासिक उपलब्धी हासिल भएको भन्दै अब नेपालले छिटै सगरमाथाको उचाई सार्वजनिक गर्ने जानकारी पनि दिइन् ।
सगरमाथा मापन टोलीको नेतृत्व गरेका प्रमुख नापी अधिकृत खिमलाल गौतमले नेपाल आफैँले पहिलो पटक उचाई मापन गर्ने टोलीको नेतृत्व गर्न पाएकोमा खुसी व्यक्ति गरे। उनले तेस्रो पोलमा रहेर ५२ वटा स्याटेलाइटबाट डाटा सर्भेक्षणको काम गर्नु अचम्मको परिघटना भएको बताए।
सगरमाथाको चुचुरोमा एक घण्टा २० मिनेट बसेको टोलीले जिएनएसएस तथा जिपिएस सर्वेक्षण गरेको थियो । चैत २७ गते काठमाडौंबाट हिँडेको टोली जेठ ४ गते बिहान २ बजे आरोहणका लागि सगरमाथा आधार शिविरतर्फ गएको थियो । टोलीले स्याटेलाइटबाट जानकारी दिएसँगै सातवटा पहाडको प्वाइन्टबाट नापी अघि बढाइएको थियो ।
सगरमाथा आरोहणबाट तथ्याङ्क संकलन भइसकेको अवस्थमा पनि अन्यस्थलगत सर्भेक्षणका तथ्यांक प्राप्त हुने क्रममा रहेको टोलीले जनाएको छ । २०७२ सालको सगरमाथाको उचाई घटबढ भएको बहस भइरहेको बेला नेपाल सरकारले आफैँ उचाई मापन गरेको हो ।