पोखरा ७, रत्नचोक निवासी गोपाल श्रेष्ठले बुधबार बिहान ८ः३० बजे विश्व सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला राखेका छन् । ५६ वर्षीय गोपाल २५ वर्षदेखि एचआइभी संक्रमित हुन् ।
काठमाडौं–लुक्ला–नाम्चे–पाङबोचे–बेसक्याम्प हुँदै उनीसहित ६ जनाको टोली बुधबार बिहान सगरमाथा पुगेको पर्यटन विभागमा महानिर्देशक डण्डराज घिमिरेले जानकारी दिए । ड्रिमर्स डेस्टिनेसन ट्रेक्स एन्ड एक्सपिडिसन प्रालि एजेन्सी मार्फत उनले गत चैत २४ गते आरोहणको अनुमति पाएका थिए ।
२००३ मा आफू एचआइभी संक्रमित भएको सार्वजनिक गरेको गोपालको यो दोस्रोपटकको प्रयास थियो । उनी यसअघि सन् २०१५ मा समेत सगरमाथा आरोहणका लागि प्रयास गरेका थिए । तर भूकम्पका कारण आधारशिविरबाटै उनी फर्किएका थिए । घाइते भई फर्किएका गोपालले आफ्ना सहयात्री ५ जनालाई भने गुमाउनु परेको थियो ।
‘नेभर गिभ अप’ लक्ष्यबाट पछि हट्नु हुँदैन भन्ने गोपाल विश्वभर रहेका एचआइभी संक्रमितहरुको प्रतिनिधित्व गर्दै सर्वोच्च शिखर सगरमाथामा पाइला राख्ने अभियानमा होमिएका हुन् ।
उनलाई ‘स्टेप अप क्याम्पियन’ले साथ दिएको थियो । गोपालले नेपालका विभिन्न हिमालहरुको सफल आरोहण गरिसकेका छन् । पहिलोपटक सगरमाथाको आरोहण असफल भएपछि उनले सन् २०१६ मा दोलखा जिल्लामा अवस्थित ६ हजार ८ सय मिटर उचाइको ‘भर्जिन पिक’ सफल आरोहण गरेका थिए ।
त्यसअघि पनि उनले सन् २०१३ अक्टोबरमा मुस्ताङ र मनाङबिच पर्ने नाका थोराङला पास, जुन ‘वल्र्ड हाई पास’ नामले परिचित छ, पार गरे । जसको उचाई ५ हजार ४ सय १७ मिटर छ । सन् २०१४ फ्रेबुअरीमा सोलुखुम्बुको ६ हजार १ सय ८० मिटर उचाईको ‘आइसल्याण्ड पिक’ समेत उनले आरोहण गरिसकेका छन् । केही संस्था र सहयोगी व्यक्तिको साथमा सन् २०१९ मा पोखराबाटै पुनः स्टेप अप क्यापियन सेकेन्ड फेजले निरन्तरता पाएको हो ।