नयाँ मुलुकी संहिता कार्यान्वयनसँगै अहिलेसम्म जिल्ला अदालतमा १ सय ४५ जोडीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गरेको जिल्ला अदालत लमजुङले जनाएको छ ।
विगतमा महिलाले सम्बन्धविच्छेद गर्दै आए पनि नयाँ कानुनसँगै महिलाजस्तै पुरुषलाई सहज भएपछि पछिल्लो समय जिल्लामा पुरुषद्वारा सम्बन्धविच्छेद गर्नेक्रम बढ्दै गएको छ ।
मुद्दामध्ये ४२ पुरुषले दर्ता गरेका छन् । ४२ मध्ये १२ सम्बन्धविच्छेद भइसकेको र ३० मुद्दा बाँकी रहेको स्रेस्तेदार शाखा अधिकृत जगतबहादुर भण्डारीले बताए । पुरुषद्वारा सम्बन्धविच्छेदको मुद्दा देवानी लागू हुनुअघि एक/दुईजनाको आउने गरेकामा नयाँ कानुनसँगै पुरुषले पनि महिलाले जस्तै गरी सम्बन्धविच्छेदको मुद्दा दिन थालेको उनको भनाइ छ ।
त्यस्तै देवानी संहिता ऐन, २०७४ लागू भएपछि वैशाख २७ गतेसम्म महिलाले १०३ सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेका छन् । त्यसमध्ये ७८ सम्बन्धविच्छेदका मुद्दा फर्स्योट भई मिलापत्र गरिएको र २५ बाँकी रहेको भण्डारीको भनाइ छ ।
महिला र पुरुष गरी १ सय ४५ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा ५५ मुद्दाको छिनोफानो हुन बाँकी छ । बालविवाह, बहुविवाह, वैदेशिक रोजगार, आधुनिक जीवनशैलीको नक्कल, इन्टरनेटको बढ्दो प्रयोग, देखावटीजस्ता कारणले सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालतले जनाएको छ ।
०७२/७३ मा सम्बन्धविच्छेदका मुद्दा १ सय १६ वटा परेको थियो । त्यस्तै ०७३/७४ मा १ सय ८, ०७४/७५ मा १ सय ५१ मुद्दा दर्ता भएको जिल्ला अदालत लमजुङले जनाएको छ ।