सामान्यत: चैत, वैशाखमा अत्यधिक गर्मी हुन्छ । तर यो वर्ष चैत वैशाखमै बर्खा लागेजस्तै भयो । त्यही कारण खोलाको बीचमै बसेका फिरन्ते जाति राउटे खोला बढ्ने डरले अलि पर सरेका छन् ।
सुर्खेतको गुर्भाकोट नगरपालिका १३, बेतेनी खोला बीचमै बसेका राउटे समुदाय खोला तर्काउन लगाइएको तटबन्धदेखि करिब २ सय मिटर पर बसाइँ सरेका हुन् । प्रतिनिधिसभा सदस्य डिला संग्रौला त्यहाँ पुग्दा राउटे मुखिया सूर्यनारायण शाहीले समुदायको व्यथा सुनाउन थाले ।
‘बर्खा लाग्न थाल्यो, बस्तीमा खाद्यान्न संकटको पीडा त्यतिकै छ, सरकारले दिने महिनाको २ हजार रुपैयाँले प्राण धान्न मुस्किल हुन्छ,' उनले भने, 'सरकार हामीलाई पाल र खाद्यान्न देऊ ।'
काठबाट कलात्मक सामग्री निर्माण गरी त्यसको बिक्रीबाटै जीविकोपार्जन गर्दै आएका राउटे समुदायका अवस्था नियाल्दै प्रतिनिधिसभा सदस्य संग्रौलाले भनिन्, 'मुलुक नयाँ युगमा प्रवेश गरिसकेको छ, पुनर्जागरणको युगमा प्रवेश गरेको छ तर राउटे समुदायको अवस्था हेर्दा अहिले पनि ढुंगेयुगमा छन् ।'
लोपोन्मुख जातिका रुपमा रहेका राउटेलाई संरक्षण गर्नुपर्ने आवश्यकता औल्याउँदै उनले उनीहरुलाई परिवर्तन गराउँदै लैजानुपर्ने आवश्यकता रहेको बताइन् ।
राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेर मात्र नहुने उनको भनाइ थियो । उनले राउटेलाई सामाजिकीकरण गर्न शिक्षामा जोड दिनुपर्ने बताइन् । राउटे समुदायमा सामाजिक घुलमिलको अभियान चलाउनुपर्नेमा जोड दिइन् । यो समुदायको कला संस्कृतिलाई बचाइराख्नुपर्ने उनले बताइन् ।
राउटे बस्तीमा हाल ४६ परिवार छन् । जम्मा १ सय ४६ जनाको संख्यामा रहेको राउटेले यसअघि जंगलमा बाँदर र गुनाको सिकार गरी छाक टार्दै आएका थिए । तर, पछिल्लो समय जंगली जनावरै पाउन छाडेपछि समस्या हुँदै आएको उनीहरू बताउँछन् ।