गाउँमै नुन पुग्न थालेपछि अदानचुलीका बासिन्दा दंग भएका छन् । नुनकै लागि भारी बोकेर दुई दिन पैदल हिँडेर सदरमुकाम सिमकोट र बाजुराको कोल्टी पुग्न नपर्ने भएपछि स्थानीय खुसी भएका हुन् ।
अदानचुली गाउँपालिका ६० वर्षीय रगवीर शाही गाउँपालिका केन्द्रमै २४ केजी नुन पाउँदा खुसी देखिन्थे । पहिले मुस्किलले ५ प्याकेट पाइनेमा यसपटक गाउँपालिका केन्द्रबाट २ घण्टामै २४ किलो नुन पाए । गाउँपालिकाका जनप्रतिनिधि, साल्ट ट्रेडिङका कर्मचारी र ठेकेदारले गाउँपालिका केन्द्रमै नुन पुर्याएका थिए ।
गाउँपालिका उपाध्यक्ष सौमती रावलले वर्षभरि खान पुग्न गरी प्रतिघर २४ केजी र कर्मचारीलाई ५ केजी नुन वितरण गर्ने व्यवस्था मिलाएको बताइन् । गाउँपालिकाको १६ सय ७७ घर परिवारलाई पुग्ने गरी सहज तरिकाले नुन वितरण गरिएको उनको भनाइ थियो ।