महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पीडित व्यक्तिले स्पष्टसँग आफ्ना समस्या न्यायालयमा राख्न नसक्दा समयमा नै न्याय प्राप्त गर्न नसकेको बताएका छन्।
माइती नेपालले शुक्रबार आयोजना गरेको प्रतिवेदन सार्वजनिक कार्यक्रममा खरेलले घटनाको नियमित सुनुवाइ नहुँदा र पीडितले आफ्नो समस्या राख्न नसक्दा समय लम्बिएर पीडितले समयमा न्याय प्राप्त गर्न नसकेको जानकारी गराए ।
पीडितलाई आफ्ना समस्या खुलेर राख्न उनले आग्रह गरे । बेपत्ता छानबिन आयोगका सचिव कृष्णजीवी घिमिरेले हरेक घटनाका पीडितलाई न्याय र पीडकलाई कारवाहीका लागि नियमित सुनुवाइ गर्नुपर्नेमा जोड दिए । संस्थाले चार महीना लगाएर २४ वटा मुद्दाको अध्ययन गरेको र त्यसमा सबैभन्दा बढी ५९ प्रतिशत निम्न माध्यमिक तहमा अध्ययन गर्ने बालबालिका बेचबिखनका शिकार हुनुपरेको प्रतिवेदनमा उल्लेख छ ।
अध्ययनका क्रममा अधिवक्ता उमा तामाङले सबैभन्दा बढी मानव बेचबिखन रोजगारी लगाइदिने बहानामा हुने गरेको अध्ययनको क्रममा पाइएको जानकारी दिए । कार्यक्रममा सहभागीले छिटोछरितो न्याय सम्पादन गरी पीडितलाई न्याय दिन नसक्दासम्म न्याय नपाइ समाजले पनि हेलाको भावनाले हेर्ने हँुदा छिटो न्यायसम्पादनमा जोड दिएका थिए ।