प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार विहान भएको भेटमा उनीहरुबीच सङ्क्रमणकालीन न्याय, सङ्घीय संसद्लाई सहजरुपमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।
खासगरी टीआरसीलाई अघि बढाउने, विधेयक अधिवेशनमा त्यति धेरै विधेयकहरू अघि नबढेकाले अब बढाऔं भन्ने लगायतका मुद्दामा प्रधानमन्त्रीले आग्रह गरेका थिए त्यसमा देउवाबाट पनि सकारात्मक प्रतिक्रिया आएको बुझिएकाे छ ।
कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भेटवार्ताको क्रममा संवैधानिक परिषद् बैठकको विषयमा छलफल भएको बताए ।कांग्रेसले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत नाम मुछिएको विषयमा संसद्मा प्रश्न उठाउँदै आएको छ । संसद्लाई प्रभावकारी बनाउने र राष्ट्रिय समस्या समाधानका लागि प्रमुख प्रतिपक्षी दलसँग प्रधानमन्त्री दाहालले नियमित छलफल गर्दै आएका छन् ।