नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले फागुन ३ गते केन्द्रीय समिति बैठक बोलाइएको हो । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
आगामी फागुन ७ देखि १० गतेसम्म हुने महासमितिको बैठकका सम्बन्धमा छलफल गर्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरिएको मुख्य सचिव पौडेलले बताए ।
महासमिति बैठकका सम्बन्धमा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध समेत गरिएको छ ।
यसैबीच, कांग्रेसको आगामी फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको महासमिति बैठकको यातायात व्यवस्थापन उपसमितिमा सात सदस्य थप गरिएको छ ।
महासमिति बैठकमा जान आउनका लागि आवश्यक पर्ने यातायात सुविधालाई व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि पार्टी केन्द्रीय सदस्य धना खतिवडाको संयोजकत्वमा रहेको उपसमितिमा आज सातजना सदस्य थप गरिएको हो ।
उपसमितिमा योगेन्द्रनाथ कर्माचार्य (काभ्रेपलाञ्चोक), केदारनाथ पौडेल (बर्दिया), शरद अधिकारी (धादिङ), सानुकाजी प्रजापति (काठमाडौँ), सुवन गिरी (नुवाकोट), धर्म भण्डारी (झापा) र महेश्वर थापा (ललितपुर) लाई थप गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।