सरकारले काठमाडौँको गोठाटारमा ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने भएको छ । हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषको जग्गामा हिन्दू विश्वविद्यालय स्थापना गर्न लागिएको हो ।
श्री पशुपति हिन्दू विश्वविद्यालय स्थापना तयारी समितिले आइतबार आफ््नो अन्तिम प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएसँगै विश्वविद्यालय निर्माणको आधार तयार भएको हो । समितिको प्रतिवेदन ग्रहण गर्दै पर्यटनमन्त्री सुदन किरातीले पशुपतिनाथ, हिन्दुत्व र हिन्दूको गहिराइ र महत्वलाई बोध गरेर पशुपति हिन्दू विश्वविद्यालय निर्माण गर्न लागिएको बताए । उनले विश्वविद्यालयको कानुनी प्रक्रिया पूरा गरेर विसं २०८१ सम्म सञ्चालन गर्ने योजनाअनुरुप काम अगाडि बढाइएको जानकारी दिए ।
कोषको गोठाटारमा रहेको पाँच सय रोपनी जग्गामध्ये दुई सय ५० रोपनी क्षेत्रफलमा विश्वविद्यालय बनाउने मन्त्रालयको योजना छ । पर्यटनमन्त्री किरातीले कोषको गोठाटारको जग्गा पशुपति हिन्दू विश्वविद्यालय निर्माणका निम्ति चाँडै नै कोषबाट औपचारिक निर्णय गरिने जानकारी दिए । उक्त प्रयोजनका विश्वविद्यालय निर्माणको पूर्ण तयारी र सञ्चालनका लागि छुट्टै समिति गठन गरिने बताए ।
समितिका संयोजक एवं संस्कृतिविद् डा जगमान गुरुङले पशुपतिनाथको माध्यमबाट विश्वलाई नेपालप्रति आकर्षण गर्ने उद्देश्यले पशुपति हिन्दू विश्वविद्यालय स्थापना गर्न लागिएको उल्लेख गरे । उहाँले विश्वविद्यालय निर्माणका लागि ७५ काम सकिएको र कानुनी मस्यौदाको कामलाई चाँडो टुङ्ग्याइनुपर्ने धारणा राखे । पूर्वीय दर्शन सम्भाव्यता र संस्कृतिको नेपालमुखी अध्ययनका लागि विश्वविद्यालय निर्माणको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । पर्यटन मन्त्रालयले गत वैशाख १३ गतेको निर्णयले हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न डा गुरुङको संयोजकत्वमा विज्ञ सरोकारवालाहरु सम्मिलित एक समिति गठन गरेको थियो । समितिले नौ महिना लगाएर तयार पारेको प्रतिवेदन आज मन्त्रालयलाई बुझाएको हो ।रासस