नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले क्षणभरमा महत्वकांक्षा पूरा गर्ने उद्देश्य लिएको राजनीतिक दल दीगो नबन्ने स्पष्ट पारेका छन्। नेपाली कांग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मन्त्री डा. महतले भने, ‘यो हामीले बुझिराखौं, भ्रम पैदा गर्ने राजनीति दल दीगो हुँदैन।’
‘अप्ठ्यारो पर्यो भने, अधिकारमाथि आक्रमण भयो भने निरन्तर लागिरहने र धैर्यता भएको राजनीतिक दल नेपाली कांग्रेस हो भनेर आम नागरिकलाई हामीले बुझाउनुपर्छ’, मन्त्री डा. महतले भने, ‘सामाजिक सञ्जालको जमाना छ, केही मानिसलाई गालीगलोज गर्न लगाउनुहोस् त्यसबाट केही हुनेवाला छैन। केही गर्नका लागि धैर्यता, जाँगर, समपर्ण र इमान्दारिता चाहिन्छ। त्यो नेपाली कांग्रेसमा मात्र छ।’
मन्त्री डा. महतले भने, ‘अहिले विचलित हुनुपर्ने कारण छैन, निरन्तर बगिरहने त्रिशुली नदीजस्तै हो– नेपाली कांग्रेस । समस्या कांग्रेसभित्र पनि रहेको उल्लेख गर्नुहुँदै उनले भने, ‘आफ्नैलाई शत्रु देख्ने, अरुलाई मित्र देख्ने ठूलो समस्या कांग्रेसभित्र छ।’ कांग्रेससँग धेरै पुस्ता जोडिएका छन्, लामो समयसम्म उठबस हुँदा उही अनुहार देखिन्छ, पार्टीभित्र प्रतिस्पर्धा पनि हुन्छ, निर्वाचन पनि वडासम्म पुग्छ। हारेको, हराएको अनुभूति हुन्छ। त्यसलाई हामी मनभित्र कसेर राख्छौं। त्यसपछि आफ्नैलाई शत्रु देख्ने खतरनाक प्रवृत्ति रहेको मन्त्री डा. महतले भने।
पदमा हुँदा वा नहुँदा पनि आफूले जिल्लाको विकासमा योगदान दिइरहेको मन्त्री डा. महतले स्पष्ट पारे। यो गरेको कामलाई प्रकाश महतले गर्यो भन्नुपर्दैन, हामीले पठाएको प्रतिनिधिले गर्यो अथवा कांग्रेसले गर्यो भनेर अपनत्व लिन उनले आग्रह गरे। यसको फाइदा भोलि चुनावमा व्यक्तिले होइन, कांग्रेसले पाउँछ, नत्र जनता भ्रमित हुन्छन भन्दै उनले भने, ‘दुवै निर्वाचन क्षेत्रमा काम भएको छ।’
‘बालाजु–तीनकुने सडक एडीबीको सहयोगमा बन्ने योजना थियो, ठेक्कामा लफडा भयो। रानीपौवादेखि उताको खण्ड टुंगियो। ठेक्का प्रकृयामा जान्छ, यताको एसियन बैंकले नै गर्छ’ उनले भने, ‘म यता र उता भन्ने जान्दिनँ, देशैभरि गर्नुपर्छ, नुवाकोटमा पनि गर्नुपर्छ । त्यस खण्डको निर्माण कार्य अनिवार्य थियो, बन्न थाल्यो त्यसमा खुशी मानौं।’