नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संघीय व्यवस्थाको सफल कार्यान्वयनका पक्षमा आफू प्रतिबद्ध रहेको भन्दै सबैको सहमतिमा सफल कार्यान्वयन गरिने बताएका छन्।
धनुषाको औरहीमा कांग्रेस क्षेत्रीय सभापति स्वर्गीय राजकिशोर सिंहको शालिक अनावरण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। देउवाले भने,‘सबैको सहमतिमा संघीयता कार्यान्वयन सफल हुन्छ भन्ने मेरो धारणा छ।’
धनुषा क्षेत्र नम्बर २ का तत्कालीन सभापति सिंह जुझारू र पार्टीप्रति प्रतिबद्ध नेता रहेको स्मरण गर्दै देउवाले उनको निधनबाट पार्टीलाई ठूलो क्षति पुगेको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिले संघीयताको सफल कार्यान्वयनका लागि प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए। निधिले संविधानप्रदत्त अधिकार संघीय सरकारले तत्काल प्रत्यायोजन गर्नुपर्ने बताए।
‘सरकार सञ्चालनका लागि सुरक्षा र प्रशासनिक निकाय नभइ हुँदैन,’ उनले भने, ‘प्रदेश सरकारको हकमा अहिलेसम्म यो काम हुन नसक्नु दुःखद विषय हो।’ आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर प्रदेश सरकारहरूलाई तत्कालै प्रहरी संगठन हस्तान्तर गरी संघीयता कार्यान्वयनको पहिलो कदम अगाडि बढाउन ध्यानाकर्षण गराएको पनि जानकारी दिए।
‘संघीय प्रणालीलाई मजबुत बनाउन प्रहरी संगठन, प्रशासनिक संरचना, राजनीतिक र आर्थिक अधिकारसहितको सवल स्थानीय तहको सुनिश्चितता हुनुपर्छ। यी विषयहरूको सम्बोधनका लागि पटकटक भनेको छु, संघीय सरकारसँग माग गरेको छु,’ उनले भने।
शालिक अनावरण कार्यक्रममा कांग्रेस सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य आनन्द ढुंगाना, प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव, जिल्ला सभापति योगेन्द्र पंजियारलगायतको उपस्थिति थियो।