जनकपुरधाम उपमहानगरपालिकाका मेयरका प्रत्याशी मनोजकुमार चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन्।
जनकपुरधाममा शनिबार आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिले चौधरीलाई पार्टी प्रवेश गराएका हुन्। बस व्यवसायी संघका अध्यक्षसमेत रहेका चौधरीसहित सात सयभन्दा बढी नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन्। कार्यक्रममा चौधरीसहित कांग्रेस प्रवेश गरेकाहरुलाई प्रतिनिधि सभा सदस्यसमेत हरेका नेता निधिले टीका लगाएर सदस्यता दिदैं पार्टीमा स्वागत गरेका थिए।
चौधरी २०७९ सालको स्थानीय तह निर्वाचनमा लोसपाबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि प्रतिस्पर्धा गरेका थिए। निर्वाचनमा उनी तेस्रो भएका थिए। त्यसअघि चौधरी २०७० सालको संविधानसभा निर्वाचनमा संविधानसभा सदस्यका लागि चुनाव लडेका थिए।
चौधरीले मधेसवादी दलहरू जनताका लागि नभएर आफू र आफन्तका लागि काम गर्ने भएकाले पार्टी परित्याग गरेको बताए। उनले सबैलाई समेटेर हिँड्ने पार्टी भएकाले आफू कांग्रेसमा प्रवेश गरेको बताए।
‘मधेसवादी दलहरू जनताका लागि काम गरेनन्, भाइभतिजा, सम्धी, सम्धनी उनीहरूको प्राथमिकतामा रह्यो, त्यसैले पार्टी परित्याग गरेर सबैलाई साथ लिएर हिँड्ने कांग्रेस प्रवेश गरेको छु,’ उनले भने।
चौधरीका साथै जनकपुरधाम उद्योग वाणिज्य संघका सचिव एवं ग्यास विक्रेता संघका अध्यक्ष फूलदेव पण्डितसहित विभिन्नि राजनीतिक दल परित्याग गरी सात सयभन्दा बढी व्यक्ति कांग्रेस प्रवेश गरेका थिए।
प्रतिक्रियाबादीहरु भ्रमको खेती गर्दैछन्ः निधि
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै निधिले सार्वभौम जनताले बनाएको प्रणालीलाई कसैले उल्टाउने वा तोड्ने दुस्प्रयास गरे नेपाली जनताले कडा जवाफ दिने बताए। उनले सार्वभौम जनताले पहिलोपटक बनाएको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले परिवर्तन गर्न नसक्ने दाबी गरे। ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानलाई कसैले बदल्न सक्दैन, कसैले उल्टाउन सक्दैन, कसैले तोड्न सक्दैन,’ निधिले भने,‘प्रणालीमाथि खतरा आए त्यसको विरोधमा अगुवाइ लिन कांग्रेस सँधै तयार रहनेछ।’
संविधान र संघीयताको विरोधमा भइरहेको आन्दोलनलाई उनले भ्रमको खेती भनी टिप्पणी गरे। दुई चार दिन नारा लगाएर केही प्रतिक्रियावादीहरूले भ्रमको खेती गरिरहेको उनले बताए।
‘काठमाडौंमा दुई चार दिन नारा लगाएर केही प्रतिक्रियावादीहरू, केही अवसरवादीहरू, केही लोकतन्त्रविरोधी तत्वहरूले वातावरण बिगार्ने भ्रमको खेती गरिरहेका छन्,’ निधिले भने।
उनले संविधान र व्यवस्थामाथि प्रहार भए रक्षाका लागि कांग्रेस नेतृत्व लिन तयार रहेको बताए। ‘चटकेहरूबाट संविधान परिवर्तन हुने कुनै सम्भावना छैन। तथापि कुनै खतरा आए रक्षाका लागि अगुवाइ गर्न कांग्रेस तयार छ’ निधिले भने।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका निधिले सरकार सञ्चालनमा केही कमीकमजोरी रहे पनि वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने उल्लेख गरे। ‘गठबन्धनबारे थरीथरीका कुरा सुनिन्छन्, तपाईंहरू ढुक्क भएर बस्नुस् यो गठबन्धन पाँच वर्ष चल्छ, गठबन्धन टुट्दैन,’ उनले भने,‘सहमतिअनुसार सरकारको नेतृत्व फेरिएला तर गठबन्धनमा केही हुँदैन।’
निधिले गठबन्धनमा भएको सहमतिअनुसार सरकारको नेतृत्वकर्ता परिवर्तन हुने बताए। ‘सुरूमा माओवादी केन्द्र त्यसपछि एकीकृत समाजवादी र अन्त्यमा कांग्रेसले नेतृत्व गर्ने गठबन्धनमा भएको सहमति यही हो र यसै हिसाबले गठबन्धन अगाडि बढ्छ,’ उनले भने। गठबन्धनप्रति कांग्रेस प्रतिबद्ध रहेको बताउँदै उनले सरकारको नेतृत्व फेरिँदैमा अस्थिरता निम्तिने भन्ने बुझाइ ठीक नरहेको जिकिर गरे।