नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको संसदीय दलको बैठकले उनले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो। दलको निर्णयपछि थापा पुरानै जिम्मेवारीमा फर्किएका छन्।
संसदीय दलको बैठकमा मुख्यमन्त्री केदार कार्कीले पनि थापालाई राजीनामा फिर्ता लिएर जिम्मेवारीमा फर्कन आग्रह गरेका थिए। दलको बैठकपछि थापाले आफू जिम्मेवारीमा फर्किएको बताए। राजनीति ट्याकमा आएका कारण सबै आफ्नो जिम्मेवारीमा फर्कने उनले बताए।
बैठकले यसअघि राजीनामा दिएका उपनेता हिमाल कार्की र प्रमुख सचेतक भूपेन्द्र राईलाई पनि जिम्मेवारीमा फर्कन आग्रह गरेको थियो। उनीहरू पनि जिम्मेवारी फर्कने थापाले बताए।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को ५ अनुसार सरकार गठनको आह्वान गरेपछि सत्तारुढ गठबन्धनले प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अघि सार्ने निर्णय गरेको थियो। तर कांग्रेसका ८ सांसदसहित विद्रोह गर्दै केदार कार्की २७ असोजमा एमालेको समर्थनमा मुख्यमन्त्री बने।
पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै थापाले नैतिकताका आधारमा २८ असोजमा दलको नेताबाट राजीनामा दिएका थिए।