कोसीका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन्। बुधबारको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ८६ र ५ विपक्षमा मत परेको हो।
मुख्यमन्त्री कार्कीलाई नेकपा एमाले, नेपाली कांग्रेस,ने कपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीले विश्वासको मत दिएका हुन्। राप्रपाका एकजना सांसद अनुपस्थित रहे।
कोसी प्रदेशसभामा एमालेका ४०,कांग्रेसका २९,नेकपा माओवादी केन्द्रका १२,राष्ट्रिय प्रजातन्त्र पार्टीका ६,नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्।
बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्दै कार्कीले प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट रोकेर स्थिर सरकार बनाउन नयाँ परिस्थितिबाट मुख्यमन्त्री बन्नुपरेको बताए।
गठबन्धनबाट विद्रोह गरेका शेखर कोइराला पक्षका कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कार्की गत शनिबार प्रदेशको मुख्यमन्त्री बनेका हुन्। मुख्यमन्त्री कार्कीले एमालेका रामबहादुर राना र कांग्रेसका शम्शेर राईलाई मन्त्रीसमेत नियुक्त गरेका छन्।प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।
यसैबीच मुख्यमन्त्री कार्कीले प्रदेशमा सहमतीय सरकार बन्ने बताएका छन्। विश्वासको मत हासिल गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रक्रिया दिँदै मुख्यमन्त्री कार्कीले सबै दलसहितको सहमतीय सरकार बनाउन अधिकतम प्रयास हुने बताए।