कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एमालेले नेपाली कांग्रेसका सांसद केदार कार्कीलाई समर्थन गरेको छ। कार्कीले बिहीबार प्रदेश प्रमुख परशुराम खापुङ्गको समक्ष पुगेर मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन्।
एमालेले उपसभामुखबाहेक ३९ जना सांसदको हस्ताक्षरसहित कांग्रेसका कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको छ। कार्कीलाई मुख्यमन्त्री बनाउन उनीसहित कांग्रेसका ८ जनाको हस्ताक्षर छ। एमालेका कार्कीले ३९ जना सांसदको हस्ताक्षर केदार कार्कीको समर्थनमा बुझाइसकेको बताए। सहमतिको प्रस्ताव ल्याउन माओवादीलाई पनि भनेको भन्दै उनले मध्यावधिमा नजाओस् भनेर आफूहरुले कांग्रेसका कार्कीलाई सहयोग गरेको उल्लेख गरे।
यसैबीच, सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दल नेता इन्द्र आङ्बोले पनि मुख्यमन्त्रीमा दाबी गरेका छन्। उनलाई केन्द्रमा सरकार बनाएको सत्ता गठबन्धन दलहरूको समर्थन छ। तर कांग्रेस नेता शेखर कोइराला पक्षका कोशीका सांसदहरू भने आङ्बोलाई मुख्यमन्त्री बनाउने पक्षमा छैनन्।
९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ जना सांसदको समर्थन चाहिन्छ।