स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले तत्काल अनलाइन र टोकन प्रणाली लागू गर्न कोशी अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।
मंगलबार आकस्मिक निरीक्षणका क्रममा विराटनगरस्थित कोशी अस्पताल पुगेका मन्त्री बस्नेतले ओपिडी र टिकट काउण्टरमा अत्यधिक भीड देखेपछि कोशी अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट डा. रविनराज सिंहलाई सर्वसाधारणलाई सजिलो र सुलभ रुपमा स्वास्थ्य सेवा पु¥याउन निर्देशन दिए।
निरीक्षणका क्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, कोशी प्रदेश स्वास्थ्य मंत्रालयका सचिव डा. सुधा देवकोटा, न्याम्सका उपकुलपति लगायत मन्त्रालयका उच्चअधिकारीहरु सहभागी थिए। मन्त्री बस्नेतले कोशी अस्पतालको विभिन्न वार्डहरुको निरीक्षण गर्नुका साथै अस्पतालको समस्याबारे जानकारी लिएका थिए।
यसैबीच राजधानी बाहिर संघीय सरकार अन्तर्गतको विराटनग स्थित कोशी अस्पतालमा ३ सय ३० बेड निः शुुल्क गरिएको छ। गरिब, असहाय र विपन्न नागरिकहरुको निःशुल्क उपचार गर्ने सरकारको दायित्व भएकाले मंगलबारदेखि आईसियु, एचडियु र क्याबिन बाहेक ३ सय ३० बेड निशुल्क र उपचार पनि निशुल्क गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले घोषणा गरे।
मन्त्री बस्नेतले यसअघि बीर अस्पतालको सात सड बेड निःशुल्क गर्ने घोषणा गरिसकेका छन्।
निःशुल्क उपचारका लागि विरामीले स्थानीय पालिका र वडा कार्यालयको सिफारिश तथा विपन्न नागरिक परिचय पत्र ल्याउनु पर्ने कोशी अस्पतालले जनाएको छ। निशुल्क उपचार गर्दा लाग्ने खर्चको भरपाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिने बताइएको छ।