लामो समयदेखि अड्किएको नागरिकता विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेकोमा गैरआवासीय नेपालीहरूले खुशी व्यक्त गरेका छन्।
विधेयक प्रमाणीकरणले गैरआवासीय नेपालीलाई नागरिकता लिन बाटो खुलेको छ। यसबाट उनीहरुले अब राजनीतिक र प्रशासनिक बाहेकका अधिकार प्रयोग गर्न पाउने गरी नागरिकता पाउनेछन्।
वंशज वा जन्मको आधारमा स्वयंले वा बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिकता लिई पछि विदेशी मुलुकको नागरिकता लिएको गैरआवासीयले यस्तो व्यवस्था बमोजिम नागरिकता पाउनेछन्।
एनआरएनए केन्द्रीय सचिव गंगाधर गौतमले विधेयक प्रमाणीकरणको स्वागत गर्दै यसबाट आफूहरूको अभियानले सार्थकता पाएको बताएका छन्। उनले भनेका छन्, ‘एक पटकको नेपाली, सधैँभरिको नेपाली भन्ने हाम्रो अभियानले सार्थकता पाएको छ।’