राष्ट्रपति रामचन्द्र पौडेलद्धारा नागरिकता विधेयक प्रमाणीकरण भएकोमा स्वागत गर्दै नेपाली कांग्रेसका नेता विलमेन्द्र निधिले विधेयक प्रमाणीकरण भएसँगै संसदीय लोकतन्त्रको मान्यता र संविधान अनुसार संसदको सर्वोच्चता कायम भएको बताएका छन्।
कांग्रेस नेता निधिले बुधबार विज्ञप्ति जारी गर्दै यसबाट नेपालको संविधान–२०७२ ले नागरिकता सम्बन्धी गरेको व्यवस्था कार्यान्वयनको बाटो खुलेको बताएका छन्। बुबा र आमा दुबै जना नेपाली नागरिक भएर पनि बर्षौंदेखि नागरिकता नपाएका तिनका सन्तानहरुका समस्या समाधान हुने उनको भनाई छ।
विज्ञप्तिमा निधिले उल्लेख गरेका छन्, ‘२०७२ असोज ३ गते संविधान जारी हुनु अगाडि जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानले विधेयक प्रमाणीकरण भएसँगै वंशजको नागरिकता पाउनेछन्। २०७२ को संविधानले संविधान जारी हुनु अगाडि जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था गरेको छ। तर संविधानको सो व्यबस्था अनुसार, नागरिकता ऐन निर्माण नहुँदा त्यस्ता नागरिकका सन्तानले नागरिकता पाउन सकेका थिएनन् । नागरिकता नपाउँदा अध्ययन तथा रोजगारीका अवसरबाट बंचित भएको मात्र होइन, ‘बोनाफाइड’ नागरिक भएर पनि नागरिकता बिहिन जीवन र पुस्ता निर्माणले हुन सक्ने अवाञ्छित द्धन्दको स्थायी समाधान भएको छ। नागरिकता विधेयक प्रमाणीकरण भएसँगै यस किसिमका सबै समस्याको समाधान हुने बिश्वास लिएको छु।’
विधेयक प्रमाणित हुनुलाई ऐतिहासिक कार्य भन्दै कांग्रेस नेता निधिले यस लागि संसद, सरकार र राष्ट्रपतिप्रति आभार व्यक्त गरेका छन्।