नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीकाे अपमान गरेकाे भन्दै आपत्ति जनाएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयाेजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले गठबन्धनले राष्ट्रपतिलाई विवादमा तान्ने काम गरेको बताए । गठबन्धनको सरकारले दिमागले नभइ शक्तिले शासन गरिरहेको उनले बताए।
'उहाँहरू जनतालाई अलमल्याउन चाहानुहुन्छ, उहाँहरूको दिमाग, मस्तिष्क सिद्धियो कि जस्तो लाग्छ, उहाँहरू मसलबाट सोच्नुहुन्छ आजकल, पाखुराबाट
सोच्नुहुन्छ, दिमाग भएजस्तो लाग्दैन, दिमागको त कुरै गर्नुहुन्न, राष्ट्रपतिजीले पुनर्विचार गर्ने कि भने- उहाँहरूले पाखुरा ठट्याउँदै नगर्ने भने ।'
संसद्ले नचिनेका मान्छे भेला भएर नागरिकताजस्तो विषयमा राजनीति गरेको र राष्ट्रपतिकाे मजाक उडाएकाे उनले बताए ।
संविधानको धारा १८१ ले कुनै पनि विधेयक राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि लैजानुअघि परामर्श गर्नुपर्नेमा गठबन्धन सरकारले त्यो नगरेको र राष्ट्रपतिलाई विवादमा तानिरहेको उनले बताए ।