बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले पहिलोपटक जनजाति महिलालाई नगरप्रमुखको रूपमा पाएको छ । महानगरपालिकामा महिलाले नेतृत्व गरेको भए पनि सङ्घीय राजधानीसमेत रहेको प्रदेशको उपमहानगरले महिला नेतृत्व पाउनु आधा आकाश र धर्ती ढाकेका महिलालाई एक प्रकारको गौरवको महसुस गराएको छ ।
संयोग पनि कस्तो परेको छ भने पूर्ववर्ती पार्टीका आफैँले नेतासमेत मानेका चलनचल्तीको भाषामा ‘हेभिवेट उम्मेदवार’लाई पराजित गरेर नयाँ इतिहास कायम गर्ने सुअवसरसमेत प्राप्त भएको छ मीना लामालाई । सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का मीना निर्वाचित भएकी हुन् । सत्तारुढ गठबन्धनको भागबण्डामा हेटौँडा उपमहानगर एकीकृत समाजवादीको हातमा परेको थियो ।
निर्वाचन अगाडि कम मत भएको जस्ता टिप्पणी गरिएको थियो । गठबन्धनका तर्फबाट इमान्दार प्रयास, व्यवस्थित निर्वाचन परिचालनलगायत कारणले लामाले जित निकालेकी हुन् ।
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को सहयोगमा भएको विजयले हेटौँडालाई समृद्ध बनाउने सङ्कल्पलाई पूरा गर्ने विश्वास गरिएको छ । उपमहानगरपालिकाको नेतृत्वमा निर्वाचित भएसँगै उनले हेटौँडालाई महिला र बालमैत्री नगर बनाउने प्रतिबद्धता दोहो¥याइन् । उनले उपप्रमुख हुँदा आफूले गर्न नसकेको र गर्नैपर्ने काम अब क्रमशः पूरा गर्दै जाने विश्वास व्यक्त गरिन् ।
नगरप्रमुख लामाले हेटौँडामा महिला र बालबालिकामैत्री वातावरण बनाउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भए पनि पूर्वाधार बनाउन नसकेको बताउँदै अब आफ्नो कार्यकालमा सो काम पूरा गरेरै छाड्ने दाबी गरिन् ।