अघिल्लो स्थानीय तहको निर्वाचनमा पहिलो बनेको नेकपा एमाले अहिलेसम्मको सार्वजनिक मत परिणाम अनुसार दोस्रो स्थानमा झरेको छ । प्राप्त मत परिणाम र अग्रताको स्थितिलाई हेर्ने हो भने पनि नेपाली कांग्रेस नै अगाडि रहने देखिन्छ ।
एमालेले निर्वाचन अगाडि पहिलो पार्टी हुने भनेर गरेको दावी मिथ्या सावित भएको छ। हुन त अझै धेरै मतगणना गर्न बाँकी रहेकाले अहिले नै यो पहिलो र दोस्रो पार्टी भनेर भनिहाल्न मिल्दैन । एमालेले मत परिणामलाई सहज रुपमा स्वीकार गरेको अवस्था छैन ।
चुनाव अघि अध्यक्ष केपी शर्मा ओलीले एक्लै चुनाव जितेर देखाइदिने दावी गरेका थिए । आफूले भने जस्तो परिणामको संकेत नदेखेपछि एमालेले चुनावमा राज्य संयन्त्रको दूरुपयोग गरिएको आरोप लगाएको छ । जितेकाले हार्ने र हारेकाले जित्ने खालका परिणामहरु आउने स्थिति बन्यो भने कानूनी उपचारमा पनि जाने एमालेले जनाएको छ।
निर्वाचन परिणाम आफ्नो पक्षमा देखिएपछि नेपाली कांग्रेस भने उत्साहित देखिएको छ। किन भने उसले एक्लै अहिलेसम्म जित र अग्रता एमालेलाई पछि पारेको छ । कांग्रेसले परिणामलाई सत्ता गठबन्धनकै सफलताको रुपमा अर्थाएको छ । सत्ता गठबन्धनको अर्काे घटक माओवादी केन्द्र पनि परिणामप्रति खुशी कै देखिएको छ। गठबन्धनमै रहेका जनता समाजवादी र एकीकृत समाजवादी पार्टी पनि गठबन्धन अनुसार मत नपाएको बुझाइमा छन् ।
आफ्नो उम्मेदवारलाई गठबन्धनभित्रै भए पनि हार्नुपर्ने परिस्थिती बन्दै गएकोप्रति जसपा र एकीकृत समाजवादी सन्तुष्ट देखिदैनन् । अहिलेसम्म सार्वजनिक भएको परिणाम भने गठबन्धनको पक्षमै देखिएको छ । त्यसो त स्वतन्त्र उम्मेदवारहरु पनि यस पटकको निर्वाचनमा निकै अगाडि देखिएका छन् । यसले दलहरुको मुटुमा ढयाङग्रो ठोक्न थालेको छ।