राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको निर्वाचनमा गण्डकीबाट गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्। महिला कोटामा कांग्रेसकी कमला पन्त, अन्य र दलित कोटाबाट माओवादी केन्द्रका सुरेश आलेमगर र भुवनबहादुर सुनार निर्वाचित भएका हुन्।
कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) गरी ५ दलीय गठबन्धनबाट उनीहरु उम्मेदवार बनेका थिए।
पन्तलाई स्थानीय तहबाट ९४ मत (१६९२ मतभार) र प्रदेशसभा सदस्यबाट २९ मत (१३९२ मतभार) प्राप्त भएको छ। उनका प्रतिद्वन्द्वी एमालेकी लीला पोखरेल थनेतले स्थानीय तहबाट ७४ मत (१३३२ मतभार) र प्रदेशसभा सदस्यको २९ मत (१३९२ मतभार) पाइन्।
यसैगरी, दलित कोटातर्फ भुवनबहादुर सुनारले स्थानीय तहबाट ९१ मत (१६३८ मतभार) र प्रदेशसभा सदस्यको २९ मत (१३९२ मतभार) पाए। उनका प्रतिस्पर्धी एमालेका अर्जुनकुमार सुनामले स्थानीय तहको ७४ (१३३२ मतभार) र प्रदेशसभा सदस्यको २९ मत (१३९२ मतभार) पाए।
यस्तै, अन्य कोटाबाट सुरेश आलेमगरले स्थानीय तहबाट ९२ मत (१६५६ मतभार) र प्रदेशसभा सदस्यको ३० मत (१४४० मतभार) पाए। उनका प्रतिस्पर्धी एमालेका पुण्यप्रसाद पौडेलले स्थानीय तहको ७५ (१३५० मतभार) र प्रदेशसभा सदस्यको २८ मत (१३४४ मतभार) पाए।
तीनैजना गठबन्धनका उम्मेदवार विजयी भए पनि गठबन्धनका केही मत एमालेलाई गएको प्रस्ट भएको छ। गठबन्धनमा कांगेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चा र जसपाका २÷२ जना र एकजना स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङे) गरी ३२ सांसद भए पनि गठबन्धन र एमालेका महिला र दलिततर्फका उम्मेदवारले २९÷२९ मत ल्याए। एमालेका २७ सांसद भए पनि महिला र दलिततर्फ २÷२ र अन्यमा १ मत बढी ल्याए।
यसैगरी, स्थानीय तहतर्फ पनि गठबन्धनसँग ९९ जनप्रतिनिधि रहेकोमा ५ जनाले मत क्रस गरेका छन्। एमालेका ६९ जनप्रतिनिधि रहेकोमा अन्यमा ६ र दलित तथा महिलामा ५ मत बढेको हो।