नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल मुस्लिम संघका निवर्तमान सभापति अब्दुल सत्तारले वैशाख महिनाभर मुस्लिम समुदायको पवित्र चाड रमाजान पर्ने भएकोले स्थानीय तहको निर्वाचनको मिति तोक्नुअघि त्यसतर्फ गम्भीर हुन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्।
निर्वाचन आयोगले शुक्रबार बोलाएको सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचनका लागि एकै पटक गर्ने भए १४ वैशाखमा र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखमा गर्ने प्रस्ताव गरेको थियो। निर्वाचन कार्यतालिका बारे सरकारलाई सिफारिस गर्नुअघि आयोगले सर्वदलीय बैठक बोलाएको थियो।
यो बर्ष रोजा उपासनाको महिना २० चैत २०७८ देखि १९ वैशाख २०७९ सम्म परेको छ। रमाजान पर्वमा महिनाभरी मुस्लिम समुदायका सदस्यहरु ब्रतमा बस्ने भएकोले उम्मेदवार बन्न तथा प्रचार प्रसारमा सहभागी हुन कठिन हुने हुँदा २० वैशाखपछि मात्र निर्वाचन गराउन केन्द्रीय सदस्य सत्तारले सरकार र आयोगको ध्यानाकर्षण गराएका हुन्। उनका अनुसार यो पर्वमा दिनभरी भोको बसेर पानी समेत नपिउने चलन छ। रमाजानको दिन सरकारले सार्वजनिक विदा दिदै आएको छ।
सर्वदलीय वैठक बस्नुअघि संघका तर्फबाट आयोगको ध्यानाकर्षण गराइएको भए पनि सुनुवाई हुन नसकेकोमा केन्द्रीय सदस्य सत्तारले आपत्ति जनाएका छन्।