नेपाली कांग्रेसको अधिवेशन अन्तर्गत प्रदेश-२ मा आज उम्मेदवारको मनोनयन र भोलि निर्वाचन हुनेछ ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशन सकिएपछि कांग्रेसका केन्द्रीय नेताको ध्यान अहिले प्रदेश २ को नेतृत्व चयनमा केन्द्रित भएको छ । प्रदेशमा आफ्नो वर्चश्व कायम राख्न शीर्ष नेताहरुले यहाँ ‘लबिङ’लाई तीब्र बनाएका छन् । यसका लागि सङ्घीय राजधानी काठमाडौँमा रहेका केन्द्रीय नेता जनकपुरधाम आइपुगेका छन् । प्रथम प्रदेश अधिवेशनबाट प्रदेश सभापतिका लागि कांग्रेस रौतहट पार्टी सभापति कृष्ण यादव र प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसकेका छन्।
देउवा समूहले सभापतिमा कृष्ण यादवलाई र निधिले आफू निकट रामसरोज यादवलाई अघि सारेका छन् ।कोइराला समूहले निधिका उम्मेदवार यादवलाई नै समर्थन गर्ने भएको छ । प्रदेश सभा संसदीय दलका नेता समेत रहेका रामसरोज यादव अहिले भौतिक पूर्वाधार मन्त्री छन्। प्रदेश क्षेत्र अधिवेशनले ७ सदस्यीय कार्यसमिति समेत चयन गर्नेछ ।
प्रदेश-२ को चुनावमा झण्डै २ हजार ७५ मतदाता छन् । गएको मंसिर १७ गते प्रदेश अधिवेशन उद्घाटन भए पनि केही जिल्लाबाट महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि छनोटमा ढिलाइ भएको भन्दै अधिवेशन केन्द्रीय महाधिवेशन पछि मात्रै गर्ने गरी स्थगित गरिएको थियो। प्रदेश २ बाहेक ६ वटै प्रदेशमा यस अघि नै प्रदेश अधिवेशन सम्पन्न भैसकेको छ ।