पार्टी एक ढिक्का भएको देखाउन एकता महाधिवेशन गरेको राप्रपामा कमल थापाको पराजयसँगै फेरि दुर्ई समूहमा विभाजन हुने संभावना बढेको छ। निर्वाचन परिणाम सार्वजनिक भए लगत्तै अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङदेनलाई लोकाचार बधाई दिएका थापाले पहिलो दिनबाटै असहयोग गर्न थालेका छन् ।
अध्यक्ष लिङदेनले अब राप्रपामा गुटहरु नहुने दाबी गरिरहँदा थापाले आफनो गुटको बैठक गरे ।उनी नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रममा त गएनन् नै आफू निकटका पदाधिकारीको बैठक डाकेर निर्वाचनको समिक्षा समेत गरे । थापाको व्यवस्थापन वर्तमान नेतृत्वका लागि चुनौतीपूर्ण नैे छ ।
उनलाई कसरी जिम्मेवारी दिएर पार्टीमै राख्ने भन्नेबारे छलफल नहँदा गुटको नेतृत्व गरेर अगाडि बढ्ने स्थिति देखिन्छ ।थापा पक्षले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्ष निकालेका छन्।लामो समयसम्म नेतृत्वमा रहेका थापाले देखाएको व्यवहार अपरिपक्क भएको राजनीतिक विश्लेषकहरुले टिप्पणी गरेका छन् ।
उनले हार्नु र पार्टीमा कमजोर हुनुमा उनको विगतका क्रियाकलाप जिम्मेवार रहेको प्रमाणित भएको छ। १६ वर्षसम्म अध्यक्ष रहेका कमल थापाले आइतबारदेखि अध्यक्ष पद गुमाउन पुगेपछि उनी विक्षिप्त बनेका छन् । पूर्व सहअध्यक्षहरुले नै थापालाई सहयोग नगरेर युवा नेता लिङदेनको पक्षमा खुलेर लागेका थिए ।
निर्वाचनमा पराजय भोग्नुको कारण चाहिँ पूर्व राजा ज्ञानेन्द्र शाहलाई दिएका छन् उनीहरुले। लिङ्देनसँग पराजित भएलगत्तै दरबारमार्गस्थित याक एन्ड यति होटेलमा थापा समूहले हतारहतारमा निर्वाचित पदाधिकारीसहितको प्रारम्भिक समीक्षा बैठकमा पूर्व राजाले आफूलाई हराउन भूमिका खेलेको आरोप लगाइहाले । थापाले दिएको प्रतिक्रियाले उनको अपरिपक्वता देखाएको छ।
राजसंस्था र उसले बोकेको एजेण्डालाई रुचाएर मत दिनेहरु उनको प्रवृति र व्यवहारबाट त्यति सन्तुष्ट थिएनन्।लामो समय एक छत्र पार्टी चलाएपनि उनको अंहकार र सत्तालिप्साको कारण फुटका क्रमहरु चलिरहे र त्यो सम्भावना अझै टरेको छैन।। अब थापाले असन्तुष्ट पक्षको नेतृत्व गरेर अध्यक्ष लिङदेनलाई सहयोग गर्लान या अप्ठयारो बनाउँछन् त्यो त समयक्रमसँगै प्रष्ट हुनेछ ।