राष्ट्रिय प्रजातन्त्र पार्टीकाे अध्यक्षमा पराजित भएका कमल थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँगको प्रतिस्पर्धामा पराजित भएपछि थापाले सामाजिक सञ्जाल मार्फत उक्त आरोप लगाएका हुन् । लामो समयदेखि नेतृत्व सम्हाल्दै आएका थापालाई यसपटक भने उनकै सहअध्यक्षहरुले पनि असहयोग गर्दै नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनेर जोड दिएर लागेका थिए । त्यसाे त युवा पुस्ताहरू पनि नेतृत्व परिवर्तनकाे पक्षमा खुलेर लागेका थिए ।पार्टीलाइ यसपटककाे निर्वाचनमा ठूला पार्टी बनाउने उनकाे लक्ष्य थियाे ।
उनले आफूलाई ‘राजनीतिकरुपमा समाप्त पार्ने चेष्टा गरिएको आरोपसमेत लगाएका छन् ।‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपको भ्रर्तसना गर्दछु,’ थापाले सामाजिक सन्जालमा लेखेका छन्, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना ।’
लामो समयदेखि राप्रपाको नेतृत्व गर्दै आएका कमल थापालाई अध्यक्षमा पराजित गरेर लिङ्देन पुनः चर्चामा आएका छन् । राप्रपाको केन्द्रीय सदस्य, महामन्त्री लगायत जिम्मेवारी सम्हालिसकेका ५६ वर्षीय लिङ्देन पार्टीको एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन् । हिन्दू राष्ट्र र राजसंस्थाकाे एजेण्डलाइ उनले अब कसरी अगाडि बढाउँलान त्याे त हेर्न बाँकी नै छ।