नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज सात वटै प्रदेशमा प्रादेशिक अधिवेशन हुँदैछ ।कांग्रेसको प्रादेशिक अधिवेशन प्रदेश १ को विराटनगरमा, २ को जनकपुरधाममा, बागमतीको हेटौंडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको धनगढीमा हुनेछ ।
निर्वाचन कार्यतालिका अनुसार आज मतदाता नामावली प्रकाशन , भाेलि मनोनयन दर्ता र पर्सी निर्वाचन हुनेछ ।१६५ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले प्रादेशिक नेतृत्व चयनका लागि मतदान गर्न पाउँछन् ।
प्रादेशिक अधिवेशनको प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम छ ।कांग्रेसकाे महाधिवेशन मंसिर २४, २५ र २६ गते काठमाडौंमा हुने भएको छ।
यस्तो छ प्रदेश अधिवेशन कार्यतालिका
समितिले प्रकाशन गरेको प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका मङ्सिर १६ गते बिहान १० बजे मतदाता नामावली प्रकाशित गर्ने, मङ्सिर १७ गते बिहान ८ देखि ११ बजेसम्म उम्मेदवार मनोनयनपत्र दर्ता गर्ने, सोही दिन दिउँसो ११ देखि १ बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने र मङ्सिर १७ गते २ बजे सो उपर निर्णय गर्ने प्रदेश निर्वाचन कार्यतालिका रहेको छ ।
मङ्सिर १७ दिउँसो २ देखि साँझ ५ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरी लिपी) पहिलो नाम प्रकाशित गर्ने, सोही दिन साँझ ६ः३० मनोनयन फिर्ता लिने, साँझ ७ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मङ्सिर १८ गते बिहान ८ बजेदेखि प्रदेश कार्यसमितिका लागि मतदान सुरु हुने समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।