एकता महाधिवेशनका नाममा १० औं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने,एकलौटी नेतृत्व चयन गर्ने र थप शक्तिशाली बन्ने केपी शर्मा ओलीको योजना यसपटक पूरा भएन ।
अध्यक्षका प्रत्याशी नेता भीम रावलले खल्तीबाट नाम झिकेर उम्मेदवार घोषणा गर्ने परिपाटीको बिरोधमात्र गरेनन् पार्टीे विधान,नीति र सिद्धान्त बमोजिम निर्वाचन प्रक्रियाबाट चल्निुपर्छ भने अडान लिए । पार्टीमा लोकतन्त्रको अभ्यास निर्वाचनले मात्र गर्न सक्ने भन्दै रावलले निर्वाचनबाट नेतृत्व छान्न निरन्तर अडान लिइनै रहे ।
उनको अडानको सामू ओलीको मात्र होइन सिंगो महाधिवेशन हलको केही लागेन । अन्तत निर्वाचनबाटै अध्यक्ष चुन्नुपर्ने अवस्था आइलाग्यो । दोस्रो कार्यकाल पनि निर्विरोध अध्यक्ष हुन खोजेका ओली रावलसँगको प्रतिस्पर्धामा होमिन बाध्य भए । हुन त उमेर हदका कारण रावलको निम्ति पनि यो महाधिवेशनमा उम्मेदवारी दिनुपर्ने बाध्यात्मक स्थिति थियो । ११ औं महाधिवेशनमा उमेरले गर्दा रावललाई पदाधिकारीमा उठ्न बाधा हुन्थे ।
पार्टीभित्र एकताको सन्देश दिन ओलीले गरेको सहमतिको प्रयासलाई रावलले गुटको संख्या दिए । ओली पक्षले तय गरेको केन्द्रीयसहित पदाधिकारीका सूचीमा छानिछानि राखेको भन्दै १० भाईको नामले चिनिएका र पूर्वमाओवादीका नेताहरु निर्वाचनमा अघि सर्न बाध्य भएका हुन् । विन्दा पाण्डे, महेश बस्ने, गोकुल बास्कोटा, लालबाबु पण्डित,भीम आचार्य,विशाल भट्टराई, मणि थापा र प्रभू शाहा पनि ३०१ सदस्यको लिष्टमा अटाएनन् ।
नेता रावल लागायतका अन्य नेताहरुको अडानले गर्दा निर्वाचनमा आफ्नो मतको प्रयोग गर्न पाए ।यदि निर्वाचन नहुने भएको भए महाधिबेशन प्रतिनिधिको काम नेतृत्वले चयन गरेका नाम अनुमोदन गर्न टेबल ठोक्ने मात्र काम हुने थियो । निर्वाचन गर्नुपर्दा ओलीपक्ष केही बेखुशी देखिएपनि अन्य प्रतिनिधिहरु भने खुशी नै छन् ।
रावल र ओलीबीचको तिक्तता प्रतिनिधिसभा विघटनदेखि नेकपा विग्रहसम्ममा चुलिएको थियो। पार्टी विभाजनका बेला अन्तिममा एमालेमै त बसे तर ओलीले उनलाई आफ््नो कित्तामा राखेनन् । सुरुमा ओली र रावलको भेट जेलमानै भएको थियो । स्पष्ट बक्ता र आफ्नो कुरामा अडिक दुबै नेताको मिल्दो स्वभाव सत्ता एवं शक्ति प्राप्त गर्न केन्द्रविन्दुमा बसिरहन खोज्नु हो ।
सुरुमा झलनाथ खनाल पक्षधर नेता रावल २०६५ सालमा बुटवलको आठौं महाधिवेशनमा एकाएक ओली प्यानलबाट उपाध्यक्षका उम्मेदवार बनेका थिए ।तर त्यतिबेला उनले जितेनन् । नवौं महाधिवेशनमा भने रावल पूर्वमहासचिव माधवकुमार नेपालको कित्ताबाट लडेर उपाध्यक्ष जिते ।
रावलले कहिले नेतृत्वसँग अन्तरविरोध राखेनन् तर सत्ताबाट बाहिरिएपछि बिद्राही छवि देखाइहाल्छन् । पार्टी राजनीतिकको प्रारम्भदेखि निकट रहेका ओली र रावल अहिले एउटै पदको लागि भिडन्तमा उत्रन पुगे ।