नेपाली कांग्रेसको हालै सम्पन्न अधिवेशनबाट धनुषाका १८ वटा पालिकामध्ये ९ वटा पालिकामा सर्वसम्मत नेतृतव चयन गरिएको छ।
धनुषामा सम्पन्न अधिकांश पालिकामा कांग्रेस उपसभापति विमलेन्द्र निधि पक्षधर बलियो देखिएका छन्। १८ पालिकामध्ये १२ पालिकाको नेतृत्वमा निधि पक्षका आएका छन्।
अधिवेशनको सुरुवातमा कतिपय पालिकामा गुटगत विवाद देखिएपछि उपसभापति निधिको अग्रसरतामा नौवटा पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो।
धनुषा क्षेत्र नम्बर १ का धनुषाधाम नगरपालिकामा चन्द्रदीप यादव, हँसपुर नगरपालिकामा राजनारायण कापर सर्वसम्मत भएका छन् भने निर्वाचनबाट सबैला नगरपालिकामा खटु यादव, मिथिलाबिहारी नगरपालिकामा राजेन्द्र यादव र गणेशमान चारनाथ नगरपालिकामा रामसुभ यादव चयन भएका छन्।
धनुषा क्षेत्र नम्बर २ का औरही गाउँपालिकामा जुगल सिंह सर्वसम्मत भएका छन् भने विदेह नगरपालिकामा गणेश साह, कमला नगरपालिकामा शंकर यादव, शहीदनगर नगरपालिकामा श्रीलाल यादव र जनकनन्दनी गाउँपालिकामा दिलिपकुमार यादवले निर्वाचित भएका छन्।
क्षेत्र नम्बर ३ मा पर्ने जनकपुरधाम उपमहानगरपालिकामा मनोज साह, नगराइन नगरपालिकामा विनय यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा विश्वनाथ यादव र धनौजी गाउँपालिकामा रामनारायण यादव सर्बसम्मत भएका छन्। यो क्षेत्र उपसभापति निधिको गृहक्षेत्र हो।
क्षेत्र नम्बर ४ का लक्ष्मिनिया गाउँपालिकामा भोगेन्द्र मिश्र र क्षिरेश्वरनाथ नगरपालिकामा लालबाबु यादव सर्वसम्मत भएका छन् भने मिथिला नगरपालिकामा जोगी महतो र बटेश्वर राजेन्द्र यादवले निर्वाचित भएका छन्।