प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई पद तथा गोपनीयता सपथ गराएका हुन्। यसैगरी, उनले नेपालको संविधानको धारा १६८ को उपधारा(९) बमोजिम कार्यविभाजनसहित मन्त्रिपरिषद् गठन गरेका छन्।
गठित मन्त्रिपरिषद्मा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की, आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की, सामाजिक विकासमन्त्री जयराम यादव र सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेले रहेका छन्।
उनीहरुलाई मुख्यमन्त्री राईले पद तथा गोपनीयताको सपथ गराएका हुन् । त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री राई आफैंसँग राखेका छन्।