नेकपा एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे वाग्मती प्रदेशकाे मुख्यमन्त्री बन्दै छन्।चार दलीय गठबन्धनका तर्फबाट पाण्डे मुख्यमन्त्री बन्न अघि सरेका हुन् ।
वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधवार राजीनामा दिए लगत्तै पाण्डले ५९ प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेस गरिसकेका छन् ।प्रदेश प्रमुख यादवचन्द्र शर्माले दलहरूलाई मुख्यमन्त्रीमा दाबी गर्न आज दिउँसो ३ बजेसम्मको समय दिएका छन्। पाण्डे बाहेक सत्ता गठबन्धनबाट अरूको दाबी पेस हुने सम्भावना छैन ।
मुख्यमन्त्री दाबीका लागि हस्ताक्षर गर्नेहरूमा माओवादी केन्द्रका २३, नेपाली काङ्ग्रेसका २२, नेकपा एकीकृत समाजवादी (एस)का १३ र जनता समाजवादी पार्टी (जसपा)का १ सदस्य छन् ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने भएकाले पाण्डे नै मुख्यमन्त्री बन्ने पक्का जस्तै छ ।पार्टी विभाजनपछि एमालेले सङ्घमा मात्रै होइन प्रदेशमा पनि सत्ता गुमाउँदै गइरहेको छ ।