नेपाली कांग्रेसको क्रियाशील छानबिन समितिले केही जिल्लाको विवाद यथावत राखेर पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ।
बिहिबार देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा समितिका संयोजक रमेश लेखकले ६ जिल्लाको विवाद यथावत राखेर प्रतिवेदन बुझाएका हुन्।
क्रियाशिल सदस्यता विवाद सल्ट्याएर प्रतिवेदन बुझाउन बिहिबारसम्मको समय दिइएकोमा समितिले केही त्रुटि सच्चाएर प्रतिवेदन बुझाएको हो। सप्तरी, बारा, धनुषा, सर्लाही–२, सिन्धुपाल्चोक र रसुवाबारे विवाद कायमै रहेको नेताहरुले जनाएका छन्।
छानविन समितिका संयोजक लेखकले प्रतिवेदन पार्टीमा बुझाइएको र अव विवादका बिषय नेताहरुकै तहबाट छलफल गरेर समाधान गर्ने निर्णय बैठकले गरेको जानकारी दिए। उनले ५ दिनभित्र विवाद समाधान गर्ने प्रतिवद्धता नेताहरुले जनाएको बताए। लेखकले तोकिएको समयमा नै महाधिवेशन गर्न पार्टी गम्भीर भएर छलफलमा लागेको उल्लेख गरे।
त्यस्तै कांग्रेस नेता प्रदीप पौडेलले ४ प्रतिशत बाँकी काम रहेको र यसले महाधिवेशन प्रभावित नहुने बताए। अब निर्वाचन समितिले काम छिटो गरेमा तोकिएको समयमै महाधिवेशन हुने उनको भनाई छ।
अरु पार्टीबाट समायोजनामा आएका र केही जिल्ला तथा निर्वाचन क्षेत्रमा देखिएका समस्या समाधान गर्न बाँकी रहेको नेताहरुले बताएका छन्। क्रियाशिल विवादकै कारण कांग्रेसको तल्लो तहको अधिवेशन प्रभावित भएको छ।