नेकपा एमालेकाे विवाद समाधानका लागि क्रियाशील सांसद भीम रावलले आइतबार सांसद पदबाट राजीनामा दिएका छन्। नेपाल समूहमा सक्रिय हुँदै आएका रावलले संसद् बैठकअघि राजीनामा दिएका हुन् ।
उनले राजीनामा पत्र सभामुख अग्नि सापकोटालाई बुझाएर फर्किएका छन् ।रावल अछाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा निर्वाचित भएका थिए । उनी एमालेले गठन गरेको विवाद समाधान कार्यदल सदस्य थिए ।
रावलको राजीनामा पत्रमा भनिएको छ, 'यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयकर भएकाले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको छु ।'
आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल तयार देखिएका छन् । अध्यक्ष केपी ओली पक्षले भने संसदीय दलको बैठकबाटै देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।