नेपाली कांग्रेसका नेताहरुले निष्पक्षताका साथ क्रियाशिल सदस्यताको टुङ्गो लगाउनुपर्नेमा जोड दिएका छन्।
कांग्रेसको आसन्न १४ औं महाधिवेशनको रणनीति बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको बैठकले निष्पक्षताका साथ क्रियाशिल सदस्यताको टुङ्गो लगाउनुपर्ने र क्रियाशिल सदस्यता छानविन समितिले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने निष्कर्ष निकालेको हो।
वडा समितिको अधिवेशन अघि नै क्रियाशिल सदस्यताको टुङ्गो लगाउनुपर्ने छलफलमा सहभागी कांग्रेस नेता प्रकाशमान सिंहले जानकारी दिए। त्यस्तै सभापतिको उम्मेद्वारका बिषयमा पनि छलफल भएको उनको भनाई छ। नेता अर्जुन नरसिंह केसीले क्रियाशिल सदस्यता वितरणमा त्रुटी देखिएकोले पारदशी ढंगले यस बिषयको अन्तिम टुङ्गो लाग्नुपर्ने बताए।
महाधिवेशनको तयारी, नीति र नेतृत्वबारे छलफल भएको नेताहरुले जनाएका छन्। महाधिवेशनको माहोल बढ्दै जाँदा शीर्ष नेताहरू आन्तरिक छलफलमा केन्द्रित भइरहेको बेला पौडेलले पनि आफूपक्षीय केन्द्रीय सदस्यहरूसँग छलफल गरेका हुन्।
वरिष्ठ नेता पौडेलसहित सो समूहको छलफलमा महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइराला लगाएतका नेताहरुको सहभागिता रहेको थियो।