आगामी भदौ १६ गतेदेखि काठमाडौंमा हुने नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पुनः सभापतिमा उठ्नका लागि शेरबहादुर देउवाले आफ्नो टिमका केन्द्रीय नेताहरुसँग छलफल अघि बढाएका छन्।
यसै क्रममा सभापति देउवाले शनिबार आफू पक्षीय केही केन्द्रीय नेताहरुलाई आफ्नै निवास बुढानीलकण्ठमा बोलाएर छलफल शुरु गरेका छन्। प्रदेशका केन्द्रीय नेताहरुलाई बोलाएर उनले आफू पुनः एक पटक सभापतिमा उठ्ने र त्यसका लागि आ आफ्नो प्रदेशबाट अधिकतम महाधिवेशन प्रतिनिधि ल्याउन भनेका छन्।
बिहान प्रदेश नं १ का नेताहरुसँग कुराकानी गरेका देउवाले दिउँसो प्रदेश नं २ का नेताहरुसँग छलफल गरेका थिए। स्रोतका अनुसार बिहानको छलफलमा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले महाधिवेशनमा जानुअघि टिमभित्र सहमतिको वातावरण बनाउनु पर्नेमा जोड दिएका थिए। कार्कीको भनाईमा समर्थन जनाउँदै केन्द्रीय सदस्यद्धय मीन बिश्वकर्मा र सीता गुरुले विमल दाइ पनि सभापतिमा उठ्ने कुरा गरिरहनु भएको छ, टिमलाई मिलाएर अघि बढ्नुपर्छ भनेका थिए। उपसभापति बिजय गच्छदारले आफू अर्को पार्टीबाट फर्केर पुनः कांग्रेसमा आएकोले कांग्रेसलाई बलियो बनाएर अघि बढाउनु पर्नेमा जोड दिएका थिए।
दिउँसो प्रदेश नं २ का नेताहरुसँगको छलफलमा पनि सभापति देउवाले आफू पुनः सभापतिमा उठ्न लागेकोले त्यसका लागि वातावरण बनाउन आग्रह गरेका थिए। दिउँसो ३ बजे देउवा निवास बुढानीलकण्ठ पुगेका उपसभापति निधिसँग सभापति देउवाले आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। जतिबेला देउवा निवासमा आनन्द ढुंगाना, जंगीलाल राय र शम्भुलाल श्रेष्ठ पनि थिए।
उपसभापति निधिले देउवासँग सभापतिमा आफूले पनि उम्मेदवारी दिने बताएका थिए। यसअघि पनि आफूले सभापतिमा चुनाब उठ्ने भनेर सभापतिसँग भनेको स्मरण गराउँदै निधिले भने, ‘तपाई सभापति होइन, प्रधानमन्त्रीका लागि अग्रसर हुनुस्, म आफूले सहयोग गर्छु। सभापतिमा तपाईंको समर्थनमा म अघि बढ्छु।’ उनले आफू सभापति देउवाको उम्मेद्वार भएर चुनाब उठ्न चाहेको बताएका थिए।
स्रोतका अनुसार जवाफमा देउवाले ‘लड्ने भए लड्नुस्, त्यो तपाईंको अधिकार हो’ भनेका थिए। निधिले भने आफू लामो समयदेखि टिममा रहेको र देउवासँगको लामो संगतका कारण सभापतिमा उठ्दा समर्थन माग्ने आफ्नो अधिकार भएको बताएका थिए। निधिले सभापति देउवालाई सभापतिमा चुनाव लड्ने तयारीबारे पुनर्विचार गर्नका लागि आग्रह गरेका थिए।
देउवाले भने निधिलाई अर्को पटक सभापति लड्न आग्रह गरेका बताइएको छ। आफूपछि आफ्नो टिममा निधि नै सिनियर नेता भएकोले १५ औं महाधिवेशनमा समर्थन गर्ने देउवाले आश्वासन दिएका थिए। १३ औं महाधिबेशनमा सभापति देउवाले १४ औं महाधिबेशनमा आफ्नो टिमबाट सभापतिको उम्मेद्वार निधिलाई नै बनाउने बचन दिएका थिए।