नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औं महाधिवेशन भदौमा गर्नैपर्ने संवैधानिक बाध्यतामात्र नभएर राजनीतिक कर्तव्यसमेत भएको बताएका छन्।
कांग्रेस जिल्ला सभापतिहरुको पहलमा सोमबार भएको कांग्रेसको आगामी महाधिवेशन सम्बन्धी भर्चुअल छलफलमा उपसभापति निधिले महाधिवेशन हुदैन कि भन्ने आशंका नगर्न आग्रह गरे। उनले संविधान र पार्टीको विधान अनुसार पनि भदौबाट कुनै पनि बहानामा महाधिबेशन सार्न नसकिने प्रष्ट पारे। आबधिक निर्वाचनमार्फत नेतृत्व चयन गर्नु कांग्रेस जस्तो लोकतान्त्रिक दलको प्रमुख दायित्व भएको निधिको भनाई थियो।
चार, पाँच जिल्लाबाहेक सबैमा क्रियाशील सदस्यता सम्बन्धी विवाद हल भइसकेको भन्दै उनले वडा तहमा अधिबेशनको काम अघि बढाउनु पर्ने उल्लेख गरे। क्रियाशील सदस्यता छानवीनका लागि गठित समितिले काम पूरा गरेर निर्वाचन समितिलाई दिएपछि महाधिबेशनको मोडलबारेमा समितिले नै निर्धारण गर्ने निधिले बताए। उपसभापति निधिले कोरोना महामारीमा कमी नआएमा जिल्ला तहमा मतदान गरेर पनि नेतृत्व चयन गर्न सकिने धारणा राखेका थिए।
कार्यक्रममा कांग्रेस पूर्ब महामन्त्री प्रकाशमान सिंहले महाधिबेशनको चर्चा शुरु भएपछि खहरे खोला जस्तो हुने कांग्रेसका गतिबिधि अरु बेलामा सून्य भएको भन्दै अब पनि त्यस्तै भए कांग्रेसको हालत प्रजापरिषद् हुने बताए।
कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले समयमा महाधिबेशन गर्न नेतृत्वको इच्छाशक्ति नहुने हो भने कांग्रेस समाप्तिको बाटोमा अघि बढ्ने बताए।
कांग्रेस केन्द्रीय सदस्य गगन थापाले समयमा पार्टीको महाधिबेशन गर्न नसक्ने नेतृत्वले देश हाँक्ने कुरा गर्नु हाँस्यस्पद हुने बताए। उनले जिल्ला तहमा मतदान गर्ने व्यबस्था मिलाएर भए पनि तोकिएकै समयमा महाधिबेशन गर्नुपर्नेमा जोड दिए।