राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशतर्फ रिक्त रहेको सदस्य पदका लागि भएकाे मतदान भर्खरै सकिएकाे छ ।
हेटौँडा–४ स्थित भुटनदेवी माविस्थित मतदान स्थलमा बिहान ९ बजे शुरु भएको मतदान दिउँसाे ३ बजे सकिएकाे हाे ।उपनिर्वाचनमा कोभिड- १९ सङ्क्रमित मतदाताका लागि छुट्टै मतदान केन्द्रसहित तीन वटा मतदान केन्द्र व्यवस्था गरिएको थियाे ।
निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य १ सय १० र प्रदेश अन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २ सय३८ गरी ३ सय ४८ मतदाता कायम रहेको छ ।
उपनिर्वाचनमा नेकपा एमालेबाट रामबहादुर थापा बादल, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) बाट कृष्णबहादुर तामाङ र स्वतन्त्र उम्मेदवार डा.खिमलाल देवकोटा प्रतिस्पर्धामा उत्रिएका छन् ।देवकोटा स्वतन्त्र उम्मेदवार भए पनि उनलाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहको सहयोग छ । तत्कालीन नेकपा विभाजनपछि एमाले प्रवेश गरेका गृहमन्त्री थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।
निर्वाचनको मत गणना र परिणाम घोषणा आज साँझ नै सर्वाजनिक हुने भएको छ । निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले मतगणना साँझ ५ बजेबाट सुरु गरिने र साँझ ७ बजेसम्ममा मत परिणम आइसक्ने अनुमान गरिएको जानकारी दिए ।