प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी संगठनले अंगिकार गरेका नीति तथा कार्य-योजनाहरुको कार्यान्वयन गरी नतिजामुखी कार्यसम्पादनतर्फ उन्मुख हुनुपर्ने बताएका छन् । सांगठनिक मूल्य मान्यताहरुको विपरीत रही आफ्नो निजी स्वार्थ सिद्ध गर्ने कुनैपनि आर्थिक अपारदर्शिताका गतिविधिहरु नगर्न समेत उनले निर्देशन दिए ।
नेपाल सरकार गृह मन्त्रालय र गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित २ दिने सुरक्षा गोष्ठीमा सहभागी प्रदेश अन्तर्गतका प्रहरी कार्यालयका प्रमुखहरुलाई सोमबार निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताएका हुन् ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले महिला, बालबालिका तथा जेष्ठ नागरिक विरुद्धका अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरी उच्च संवेदनशील रहि पीडितलाई प्रहरी सेवाको सकरात्मक सेवाभाव महशुस हुने गरी कार्यसम्पादन गर्न समेत निर्देशन दिए।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले समग्र प्रदेश अन्तर्गतको शान्ति सुव्यवस्था, अपराध अनुसन्धान लगायतका विषयमा जानकारी दिएका थिए।