नेकपा दाहाल-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले अदालतको अवहेलनाकाे मुद्दामा सर्वोच्च अदालतलाई लिखित जवाफ दिएका छन् ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा विभिन्न सभाहरूमा बोलेको तथा न्यायाधीशहरूलाई लक्षित गरी अभिव्यक्ति दिएको भन्दै आफूविरुद्ध परेको अवहेलनासम्बन्धी मुद्दामा आइतबार सर्वोच्च अदालत पुगेर दाहालले लिखित जवाफ बुझाएका हुन् । आइतबार बिहान ११ बजेतिर सर्वोच्च पुगेर लिखित जवाफ दिएका दाहालले अदालतको अवहेलना गर्ने कुरा आफू र आफ्नो दलबाट कहिल्यै हुन नसक्ने पनि स्पष्ट पारेका छन् ।
दाहालविरुद्ध अधिवक्ता समीर हायूले निवेदन दर्ता गरेका थिए । निवेदनमा दाहालले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा विभिन्न सभाहरूमा बोल्नुका साथै न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको उल्लेख छ ।दाहालविरुद्ध परेको अदालतको अवहेलना रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको इजलासले लिखित जवाफ माग गर्ने आदेश दिएको थियो ।
मैले संविधानविरुद्धको कामबारेमा जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको हुँ, यसबाट सम्मानित अदालतको अवहेलना हुन सक्दैन,’ दाहालको जवाफ छ ।दाहालले आफूविरुद्ध परेको निवेदन सरकारको नेतृत्वले प्रायोजित रूपमै तयार पारेको र उक्त दाबी औचित्यहीन रहेको जनाउँदै खारेज गर्न माग गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि यसरी नै अवहेलना मुद्दा दर्ता भएको थियाे ।उनीहरूले पनि स्वयं अदालतमा उपस्थित भएर लिखित जवाफ दिइसकेका छन् ।